ad ad

समाज


दाइजोमा सुनको सिक्री नभएको भन्दै बेहुला जब बेहुली छाडेर हिँडे...

दाइजोमा सुनको सिक्री नभएको भन्दै बेहुला जब बेहुली छाडेर हिँडे...

बेहुला बच्चालाल साहलाई पक्राउ गर्दै प्रहरी


नेपालखबर
फागुन २९, २०८० मंगलबार १४:१०, काठमाडौँ

दाइजोमा सुनको सिक्री नभएको भन्दै विवाह अस्वीकार गरेको आरोपमा प्रहरीले पर्साको वीरगन्जबाट बेहुलासहित केही जन्तीलाई पक्राउ गरेको छ। 

बेहुलीसँग मण्डपमा बसिसकेपछि दाइजोको विषयमा निहुँ खोज्दै विवाह गर्न अस्वीकार गरेको आरोपमा बेहुलासहित केही व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी कुमार बिक्रम थापाले जानकारी दिए। 

बाराको कलैया उपमहानगरपालिका- ४ सिनेमा चोक निवासी बच्चालाल साहका छाेरा उमेश साहसहितका केही व्यक्तिलाई पक्राउ गरिएको उनले बताए। उमेश बेहुला हुन्। 

‘पीडित (बेहुली) पक्ष जाहेरी लिएर केहीबेर अघि मात्रै जिल्ला प्रहरी कार्यालय आइपुग्नु भएको छ। हामी घटनाको विषयमा थप बुझ्दै छौँ,’ डीएसपी थापाले नेपालखबरसँग भने, ‘यस सम्बन्धमा विस्तृत विवरण हामी भरेसम्ममा सार्वजनिक गर्ने छौँ।’

पक्राउ पर्ने उमेश (बेहुला) वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कम्प्युटर अपरेटर पदमा कार्यरत कर्मचारी भएको बेहुली पक्षले बताएका छन्। 

साह सोमबार साँझ बेहुली लिन वीरगन्ज महानगरपालिका–२४ रामगढवा निवासी सुखल साहको घर पुगेका थिए। केही दिनअघि मात्रै सुखलकी २४ वर्षीया छोरी रमिताको बच्चालालसँग विवाहको टुंगो लागेको थियो। 

सोमबार राति मण्डमा बसिसकेपछि उनले दाइजोमा सिक्री नपाएको भन्दै विवाह गर्न अस्वीकार गरेपछि दुई पक्षबीच विवाद भएको थियो। 

त्यसक्रममा बेहुली पक्षले खबर गरेपछि पुगेको प्रहरीले बेहुला, उनका दाइ, भिनाजुसहितलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेको सबै विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन। 

जन्तीले खाना खाइसकेपछि मण्डपमा विवाहको विधिको तयारी भइरहँदा बेहुला सुनको सिक्री नभएको भन्दैमण्डपबाट उठेका थिए। उनी त्यसरी उठ्दा बेहुली पक्षका आफन्तले रोक्ने प्रयास गरेपछि उनले विवाह गर्न अस्वीकार गरेको आरोप छ। 

बेहुलाले यसअघि केटी पक्षबाट दाइजाेकाे रुपमा १२ लाख नगद, ३ लाख २५ हजारको मोटरसाइकल, ७५ हजारको ल्यापटप र एउटा सुनको औंठी लिइसकेका बेहुली पक्षको दाबी छ। 

दुबै परिवारबीच पहिल्यै दाइजोको विषय टुंगो लागेपछि विवाहको लागि तयार भएकाे थिए। तर, मण्डपमा बसिसकेपछि बेहुलाले थप दाइजो खोजेपछि विवाद सुरु भएको बेहुली पक्षको आरोप छ।

प्रहरीले घटनाको विषयमा अनुसन्धान गरेर दोषीलाई कानुनी कारबाही अघि बढाइने जनाएको छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .