ad ad

समाज


बन्ने भयो बर्दीबासमा सरकारी मेडिकल कलेज, मन्त्रिपरिषद्‍को निर्णयले स्थानीय उत्साहित

बन्ने भयो बर्दीबासमा सरकारी मेडिकल कलेज, मन्त्रिपरिषद्‍को निर्णयले स्थानीय उत्साहित

नेपालखबर
माघ ५, २०८० शुक्रबार ८:४०, महाेत्तरी

लामो समयदेखि प्रतिक्षा हुँदै आएको बर्दीबासमा सरकारी मेडिकल कजेजको निर्माण कार्य अब सुरु हुने भएको छ। 

गएको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बर्दीबासमा मेडिकल कलेज निर्माणको काम अघि बढाउन स्वीकृति दिने निर्णय गरेपछि महोत्तरीबासीमा उत्साह छाएको छ। 

मन्त्रिपरिषद्को निर्णयले महोत्तरीवासी उत्साहित भएका माओवादी केन्द्रका स्थानीय युवा नेता गणेश बस्नेतले बताए। ‘मन्त्रिपरिषद्को निर्णयले यहाँ उत्साह छाएको छ,’ उनले भने, अब चाँडै बर्दीबासमा मेडिकल कलेजको पूर्वाधार निर्माण कार्य अघि बढ्ने विश्वास हामीले लिएका छौँ।’

मन्त्रिपरिषद् बैठकले बर्दीबासमा मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनालाई सर्तहरु पालना गर्नेगरी महोत्तरीको बर्दीबास नगरपालिका- ४ मा पर्ने माइस्थान सामुदायिक वन क्षेत्रको ५४ दशमलव ५८४ हेक्टर जग्गा प्रयोग गर्न दिने निर्णय गरेको छ।

बर्दिबास मेडिकल कलेज क्षेत्रको जग्गामा रहेका विभिन्न प्रजातीका १ हजार ९६७ वटा रुख तथा पोल हटाउन स्वीकृति दिने निर्णय पनि बुधबारको मन्त्रिपरिषद् बैठकले गरेको छ। 

महोत्तरीको बर्दिबासमा १ हजार बेड क्षमताको मेडिकल कलेज निर्माण गर्ने  निर्णय ०७३ सालमै भए पनि विभिन्न प्रकारका किचलोको कारण काम अघि बढ्न सकेको थिएन। 

‘अहिले सरकारले मेडिकल कलेज क्षेत्रमा पर्ने रुक कटानकै स्वीकृति दिएकाले अब काम अघि बढाउन कुनै पनि बाधा पर्दैन भन्ने विश्वास हामीमा छ,’ बस्नेतले भने।

गएको जेठ २९ गते सर्वोच्च अदालतले पनि बर्दिबासमा एक हजार बेड क्षमताको मेडिकल कलेज निर्माणको पक्षमा फैसला गरेको थियो। 

त्यतिबेला बर्दिबासमा सरकारी मेडिकल कलेज बनाउन नहुने भन्दै धनुषाका देवनारायण मण्डलले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेर मेडिकल कलेज निर्माणको बाटो खोलिदिएको थियो। 

०७३ सालमा माओवादी नेता गिरीराजमणि पोखरेल शिक्षामन्त्री भएको बेला बर्दिबासमा एक हजार बेड क्षमताको सरकारी मेडिकल कलेज स्थापना गर्ने निर्णय सरकारले गरेको थियो। त्यतिबेला सरकारले बर्दिबाससँगै बुटवल र सुर्खेतमा पनि सरकारी मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेको थियो।

हाल माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका पोखरेलले बर्दिबासमा सरकारी मेडिकल कलेज स्थापनाको लागि विभिन्न ढंगले पहल अघि बढाउँदै आएका थिए। 

सरकारले बर्दिबासमा मेडिकल कलेज स्थापना गर्ने निर्णय गरेपछि २०७६ बैशाख १८ गते बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण आयोजना कार्यालयको स्थापना भई जग्गा प्राप्तीको काम अघि बढेको थियो। 

मेडिकल कलेज निर्माणको लागि ‘स्वायल टेस्ट’सहित डीपीआरसमेत तयार भइसकेको बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण आयोजनाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .