समाज


रुवी खाँनको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न मानव अधिकार रक्षकहरूको आग्रह

रुवी खाँनको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न मानव अधिकार रक्षकहरूको आग्रह

नेपालखबर
जेठ ५, २०८३ मंगलबार १६:५४, काठमाडौँ

विभिन्न घटनासम्बन्धी आफ्ना माग राख्दै २२ दिनदेखि आमरण अनशनमा रहेकी महिला अधिकारकर्मी रुवी खानको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति मानव अधिकार रक्षकहरूले गम्भीर ध्यानाकर्षण जनाएका छन्। उनीहरूले सम्बन्धित पक्षलाई संवादमार्फत समाधान खोज्न आग्रह गरेका छन्।

मानव अधिकार रक्षकहरूको टोलीले आइतबार नेपालगञ्जस्थित संजीवनी अस्पताल पुगेर उपचाररत खाँनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको जनाएको छ। टोलीले उपचारमा संलग्न चिकित्सक, महिला अधिकार मञ्चका पदाधिकारी तथा खाँनसँग भेटघाट गरी उनले उठाएका माग र स्वास्थ्य अवस्थाबारे छलफल गरेको थियो।

भेटका क्रममा खाँनलाई नुनिलो पानी (स्लाइन वाटर) दिइरहेको अवस्थामा पाइएको र लामो समयदेखिको अनशनका कारण स्वास्थ्य अवस्था थप जटिल बन्न सक्ने जोखिम रहेको चिकित्सकहरूले बताएका छन्।

मानव अधिकार रक्षकहरूको टोलीले बाँकेका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज कार्यालय प्रमुखसँग समेत भेट गरी रुवी खाँनको स्वास्थ्य अवस्था र उनले उठाएका मागबारे जानकारी गराएको जनाएको छ।

प्रेस विज्ञप्तिमार्फत मानव अधिकार रक्षकहरूले नागरिकको बाँच्न पाउने अधिकार र स्वास्थ्यको अधिकारको सम्मान गर्दै खाँनको स्वास्थ्य अवस्थाप्रति गम्भीर हुन तथा उनले उठाएका विषयमा कानुनसम्मत ढंगबाट समाधान खोज्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।

त्यसै गरी रुवी खाँनलाई पनि आफ्नो स्वास्थ्य र जीवनको संरक्षणलाई प्राथमिकतामा राख्दै मानव अधिकारका मूल्य, मान्यता र सिद्धान्तअनुरूप आन्दोलनका वैकल्पिक तथा संवादमुखी उपाय अवलम्बन गर्न अनुरोध गरिएको छ।

विज्ञप्तिमा मानव अधिकारको संरक्षण र न्यायको खोजी जीवन तथा स्वास्थ्यको सुरक्षासँगै अघि बढ्नुपर्ने साझा जिम्मेवारी भएको उल्लेख गरिएको छ।

प्रेस विज्ञप्तिमा वरिष्ठ अधिवक्ता तथा सार्वजनिक सरोकार कानुन व्यवसायी समूहका संयोजक सुनिलकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीनकुमार गिरि, इन्सेक लुम्बिनी प्रदेशका प्रदेश संयोजक भोला महत, एडभोकेसी फोरम नेपालका वरिष्ठ प्रदेश संयोजक वसन्त गौतम तथा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारीको हस्ताक्षर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad