समाज


आफू विदेशमा हुँदा अर्कैसँग गएकी पत्नीको हत्या

आरोपी युवक असार २४ गते मात्रै इजरायलबाट फर्किएका थिए
आफू विदेशमा हुँदा अर्कैसँग गएकी पत्नीको हत्या

नेपालखबर
असार ३२, २०८२ बुधबार १०:२०, काठमाडौँ

प्यूठानका एक युवकले आफू वैदेशिक रोजगारीमा रहँदा अर्कैसँग दोस्रो बिहे गरेर हिँडेकी पत्नीको हत्या गरेका छन्। 

सरुमारानी गाउँपालिका–३ गोठेरीकी २८ वर्षीया रुक्मिणी बरालको पूर्वपति ३२ वर्षीय लिलबहादुर बरालले मंगलबार चक्कु प्रहार गरी हत्या गरेका प्रहरीले जनाएको छ। हालका पतिकै घरमा गएर उनले पत्नीकाे हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपेश बस्यालका अनुसार हत्या घटना लगत्तै बराल पक्राउ परेका छन्। 

लिलबहादुरको घर प्यूठानकै ऐरावती गाउँपालिका–२ कात्तिके हो। 

रुक्मिणीका बराल तर्फका ८ वर्षका छोरा र ६ वर्षकी छोरी छन्। पति वैदेशिक रोजगारीको शिलशिलामा इजरायलमा रहेको बेला गएको वैशाखमा उनले सरुमारानी गाउँपालिका–३ गोठेरीका दिपक परियारसँग भागी बिहे गरेकी थिइन्। परियारको यो पहिलो बिहे हो।

‘बराल यही असार २४ गते मात्रै घर फर्किएका रहेछन्,’ डीएसपी बस्यालले नेपालखबरसँग भने, ‘घर फर्किपछि आफूले घरमा बोलाउँदा पनि नआएको र सम्बन्ध बिच्छेद गर्न खोज्दा पनि नमानेपछि हत्या गरेको बयान बरालले दिएका छन्।’

‘यसअघि जेजस्तो भए पनि म बिर्सिन्छु। तँ घरमा आइनस् भने ससाना छोराछोरीको विजोग हुन्छ भनेर बोलाउँदा पनि आउन नमानेपछि हत्या गरेको हुँ,’ प्रहरीसँगको बयानमा बरालले भनेका छन्। 

रुक्मिणीको हत्या हुँदा उनका हालका पति भने घरमा थिएनन्। ‘उनी कामको शिलशिलामा सोलुखुम्बु गएको बेला घटना भएको हो,’ डीएसपी बस्यालले भने। परियार १५ दिन अघि नै  मिस्त्रीकाे काम गर्न साेलुखुम्बु गएका थिए।

मंगलबार बिहान जेठानी डिला परियारको घरमा गएको बेला त्यहीँ पुगेर बरालले रुक्मिणीकाे हत्या गरेका प्रहरीले जनाएको छ। 

हत्याअघि लीलबहादुरले रुक्मिणीलाई फोन गरी बाहिर बोलाएका थिए। तर, उनी बाहिर निस्कन नमानेपछि घरभित्रै गएर उनले चक्कु प्रहार गरी हत्या गरेका प्रत्यक्षदर्शी डिला परियारले बताएकी छन्।

१० वर्षअघि रुक्मिणी र बरालको मागी बिहे भएको थियो। उनी डेढ वर्षअघि मात्रै इजरायल गएका थिए। गएको वैशाखमा आमाले घर छाडेर हिँडेपछि दुई छोराछोरीको रेखदेख हजुरबा हजुरआमाले गर्दै आएका थिए। 

‘आमाको हत्या भयो, बुवा जेल जाने भए,’ डीएसपी बस्यालले भने, ‘उनीहरुको ८ र ६ वर्षका दुई छोराछोरीको बिचल्ली हुने अवस्था सिर्जना भएको छ।’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad