दाङ प्रहरीले पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ।
सल्यानको कपुरकोट गाउँपालिका-३ फलाटे घर भई हाल दाङको घोराही नगरपालिका- १५ बीपी चोकमा बस्दै आएका १९ वर्षीय अजय विक पेस्तोलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
विक लोटस ट्रेनिङ सेन्टरमा ट्रेनिङ गरी सोही ट्रेनिङ सेन्टरको होस्टेलमा बस्दै आएका थिए। उनले आफू सुत्ने खाटमुनि लुकाएर राखेको अवस्थामा पेस्तोल बरामद भएको हो।
उनले अवैध हतियार तथा गोलीगठ्ठा गोप्य रूपमा लुकाईछिपाई राखेको सूचनाको आधारमा पक्राउ गरेको प्रहरीको भनाइ छ।
वडा प्रहरी कार्यालय, घोराहीबाट सुरज सिंहको कमान्डमा गएको प्रहरीले विकको साथबाट एक थान पेस्तोल, त्यसको चार थान गोली, सोही पेस्तोलमा लाग्ने सात राउन्ड क्षमता भएको म्यागजिन बरामद गरेको छ।
विकमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया