झापाको कनकाई नगरपालिकामा आएको हावाहुरिले करोडौँ मूल्यको केरा खेती नष्ट भएको छ।
जेठ ११ गते राति आएको हावाहुरीका कारण कनकाई नगरपालिका–७ स्थित बत्तिस बिघा क्षेत्रमा लगाइएको केरा खेतीमा क्षति पुगेको हो। स्थानीय कृषकले व्यावसायिक रूपमा ६० बिघा जमिनमा लगाएको केरा खेती हावाहुरीले ढालेको जनाइएको छ।
प्रहरीका अनुसार हावाहुरिका कारण उक्त क्षेत्रमा मात्रै करिब तीन करोड ६० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। बजारमा लैजाने तयारीमा रहेको केरा बोटैसहित ढलेपछि वर्षभरिको लगानी र श्रम खेर गएको भन्दै पीडित किसानले राहत र उचित क्षतिपूर्तिका लागि माग गरेका छन्।
यस प्राकृतिक विपत्ति र क्षतिका सम्बन्धमा बुधबार बिहान इलाका प्रहरी कार्यालय, घैलाडुब्बामा जानकारी प्राप्त भएपछि प्रहरीले घटनाको विवरण लिई स्थानीय प्रशासन र सरोकारवाला निकायसँग समन्वय गरी थप क्षतिको विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ।
Shares

प्रतिक्रिया