जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले अनुमतिबिना ड्रोन नउडाउन आग्रह गरेको छ।
हाल जिल्लाका विभिन्न स्थानमा प्रचलित कानुनविपरीत मानवरहित हवाई उपकरण (ड्रोन) उडान भइरहेका गुनासो बढेपछि प्रशासनले चासो दिएको हो।
प्रशासनले सूचना जारी गर्दै नागरिकको गोपनीयता, व्यक्तिगत सुरक्षा, धार्मिक–सांस्कृतिक सम्पदा संरक्षण तथा सामरिक सुरक्षामाथि पर्ने जोखिमलाई मध्यनजर गर्दै ड्रोन उडानअघि अनिवार्य रूपमा दर्ता गरी यूआईएन अनुमति लिन भनेको छ।
साथै ड्रोनको बनावट, तौल, उचाइ, उडान समय, पाइलटको योग्यता, नवीकरण, अनुमति प्रक्रिया लगायत ‘मानवरहित हवाई उपकरण ड्रोन उडान सम्बन्धी कार्यविधि, २०७५’ मा उल्लेखित सबै प्रावधान पालना गर्न पनि स्थानीय प्रशासनले सचेत गराएको छ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंद्वारा जारी गरिएको सूचनामा अनुमति बिना ड्रोन उडाएको वा उडाउन दिएको पाइएमा कानुन अनुसार कडा कारबाही हुने चेतावनी दिएको छ। आवश्यक परे ड्रोन जफत तथा इजाजत खारेजसमेत हुने चेतावनी स्थानीय प्रशासनले दिएको हो।
यस्तै, बिना स्वीकृति ड्रोन उडाएको देखिएमा तत्काल जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयलाई जानकारी दिन दिन पनि भनिएको छ। सार्वजनिक हित, शान्ति–सुरक्षा र संवेदनशील क्षेत्रहरूको सुरक्षा सुनिश्चित गर्न सबैको साथ आवश्यक रहेको प्रशासनले जनाएको छ।

Shares

प्रतिक्रिया