संयुक्त राष्ट्र सुरक्षा परिषद्ले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले तयार पारेको २०-बुँदे गाजा योजनासँग सम्बन्धित प्रस्तावका पक्षमा मतदान गरेको छ। यो योजनाले इन्टरनेसनल स्टेबलाइजेसन फोर्स (आईएसएफ) गठनको व्यवस्था गरेको छ।
बीबीसीका अनुसार बेलायत, फ्रान्स र सोमालियासहित १३ देशले प्रस्तावका पक्षमा मतदान गरे। विपक्षमा कुनै पनि देशले मतदान गरेनन् भने रुस र चीन उपस्थित भएनन्।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले भने, ‘प्रस्ताव पारित हुनु युद्धविराम बलियो बनाउन एक महत्त्वपूर्ण कदम हो।’
यसैबीच हमासले भने उक्त प्रस्ताव अस्वीकार गरेको छ। यसले प्यालेस्टिनीहरूको अधिकार र माग पूरा नगर्ने उसको भनाइ छ।
प्रस्ताव पारित भएपछि हमासले टेलिग्राममा लेखेको छ, ‘यो योजनाले गाजा पट्टीमा अन्तर्राष्ट्रिय संरक्षित प्रणाली लागु गर्छ, जुन हाम्रा जनता र उनीहरूका समूहले स्वीकार गर्दैनन्।’
हमासले अगाडि भनेको छ, ‘प्रतिरोधलाई नि:शस्त्रीकरण गर्ने सहित गाजा पट्टीभित्र आईएसएफलाई कार्य र भूमिका तोक्दा यसको निष्पक्षता कमजोर बनाउँछ।’
प्रस्तावअनुसार, आईएसएफले इजरायल र इजिप्टसँगको सहकार्यमा काम गर्नेछ।
साथै यसले प्यालेस्टिनी प्रहरी बलसँगै सीमा क्षेत्र सुरक्षित गर्न र हमासलगायत सशस्त्र समूहलाई स्थायी रूपमा नि:शस्त्र पार्न मद्दत गर्नेछ।
Shares

प्रतिक्रिया