समाज


शिक्षकको फेसबुक स्टाटसले सिर्जना गरेको विवाद: १ सातादेखि विद्यार्थी आन्दोलनमा, पठनपाठन ठप्प

प्रधानाध्यापक विद्यालय जान छाडे, स्टाटस लेख्ने शिक्षकको मेयरको निर्देशनमा सरुवा
शिक्षकको फेसबुक स्टाटसले सिर्जना गरेको विवाद: १ सातादेखि विद्यार्थी आन्दोलनमा, पठनपाठन ठप्प

सुमन सुस्केरा
भदौ १६, २०८२ सोमबार १२:१३, सुनसरी

सुनसरीको वराहक्षेत्र–८ मा रहेको कोसी माध्यमिक विद्यालयमा ८ दिनदेखि पठनपाठन ठप्प छ। विद्यार्थीले लगातार आन्दोलन गरिरहेका कारण यो विद्यालयमा पठनपाठन हुन सकेको छैन। 

यही भदौ ८ गतेदेखि चुलिएको विवादमा अहिले विद्यार्थीलाई सडकमा उतारेर शिक्षक र स्थानीय जनप्रतिनिधि रमिते बनेका छन्। विद्यालयका प्रधानाध्यापक बालकृष्ण अधिकारी बिरामीको बहाना बनाएर घरमै बसिरहेका छन्। 

सम्बन्धित निकाय गैर जिम्मेवार हुँदैजाँदा विद्यालयको अवस्था अस्तव्यस्त भएको छ।  शान्ति क्षेत्र मानिने विद्यालयमा हरेक दिन हतियारधारी सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा दिइरहेका छन्।  

आइतबार त विद्यालयमा अभिभावकलाई छिर्नै दिइएन। असाध्यै गर्मीका बिच ससाना बालबालिकाहरू ‘हाम्रो माग पुरा गर, शिक्षक बालकृष्ण बोहरालाई सरुवा गर्न पाइँदैन’ भन्दै गेट बाहिर र भित्र आन्दोलन गरिरहेका छन्।

हतियारधारी राखेर विद्यालयमा पठन पाठन गर्न खोजिएको भए पनि त्यो अहिलेसम्म सम्भव भएको छैन।  

भदौ ८ गतेदेखि सुरु भएको विद्यार्थी र अभिभावकको आन्दोलनलाई मत्थर बनाउन भदौ ११ गते विद्यालयका प्रधानाध्यापकले भदौ १५ गतेसम्ममा माग सम्बोधन गर्ने आश्वासन दिएका थिए। तर अहिलेसम्म समस्या समाधानको कुनै पहल नभएपछि विद्यार्थी र अभिभावको आन्दोलन जारी छ। 

कोसी माविमा भएको के हो?
विद्यालय एक सातादेखि अशान्त हुनुको कारण हो, एक शिक्षकले फेसबुकमा लेखेको स्ट्याटस। वराहक्षेत्र नगरपालिका–८ स्थित कोसी माध्यमिक विद्यालयका शिक्षक बालकृष्ण बोहरा सामाजिक शिक्षक हुन्। 

उनले गएकाे साउन ३० गते सामाजिक सञ्जाल फेसबुकमा ‘२/३ वटी श्रीमती बिहे गरेका मेयर र वडाध्यक्षहरूले कार्यक्रमपिच्छे पालैपालो श्रीमतीहरूलाई लगेर कार्यक्रममा प्रत्येकलाई प्रथम महिला भन्दै सम्बोधन गरेको सुन्छु। खासमा प्रथम महिला भनेको को हो?’  

उनले  लेखेको यो स्ट्याटसले बराह क्षेत्रमा एकाएक तरङ्ग ल्याउँछ। तर उनले लेखेको यो स्ट्याटसमा कुनै व्यक्ति वा मेयरको नाम लिएको देखिँदैन। 

तर, उक्त स्ट्याटस लेखेको भोलिपल्ट साउन ३१ गते (शनिबार) इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उनलाई बोलाइन्छ। स्ट्याटसपछि आतङ्कित बनेका वराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की र इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिवस कुँवरले उनलाई स्ट्याटस लेखेको बारेमा केरकार गर्छन्। 

शिक्षक बोहराले नेपालखबरसँग भने, ‘मलाई तँ अराजक शिक्षक होस्, शिक्षकको नाममा कलङ्क होस्, जस्ता शब्द प्रयोग गर्दै स्ट्याटस डिलिट गर्न दबाब दिइयो।’

उनले त्यतिबेला आफ्नो स्ट्याटस साइबर क्राइम अन्तर्गत पर्छ भने कानुनअनुसार कारबाही भोग्न तयार रहेको जवाफ दिए। तर,  आफूमाथि दुर्व्यवहार गरेर मोबाइल खोस्दै डिलिट गर्न लगाइएको उनको भनाई छ।  

शिक्षक बोहरालाई इलाका प्रहरी कार्यालयमा त्यति गरेपछि मेयर कार्की बाहिरिएका थिए। त्यसपछि उनलाई इलाका प्रहरी कार्यालयमा झन्डै २ घण्टासम्म राखिएको थियो।

उक्त घटनापछि २४ घण्टा नबित्दै विद्यालय व्यवस्थापन समितिको बैठक बस्छ। उनलाई सरुवाको लागि पत्र लेख्न विद्यालय व्यवस्थापन समितिलाई मेयर कार्कीले दबाव दिन्छन्। 

भदौ १ गते (आइतबार) बसेको वराहक्षेत्र नगरपालिका शिक्षा समितिको बैठकले उनलाई सुनसरीकै सूर्यकुण्डस्थित विद्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो। पत्र भने भदौ ३ गते नै विद्यालयमा पुग्छ। अर्को शिक्षकले बुझेको पत्र उनले भने बुझ्न मान्दैनन्। 

भदौ ४ गते बोहरालाई पत्र थमाइए पनि आफूले बुझ्न अस्वीकार गरेको उनले बताए। शिक्षक बोहराले भने, ‘मलाई कुनै दोष प्रमाणित नगरीकन, नियम विपरीत सरुवा गरियो। याे मलाई मान्य छैन।’

भदौ ५ गतेदेखि नै विद्यालयमा रहेको हाजिरी रजिष्टरबाट उनको नाम काटियो र पढाउने रुटिनबाट समेत उनलाई हटाइएकाे छ।

यो समान्य आँखाले हेर्दा विद्यालयभित्रको घटनाक्रम देखिएको भए पनि यो सबै घटनाको जिम्मेवार मेयर कार्की हुन्। उनको निर्देशनमा यो सबै काम भएको विद्यार्थी र अभिभावककाे आराेप छ। 

विद्यार्थी र अभिभावकको विरोध
भदौ ६ गतेसम्म बाेहाेरा नियमित कक्षामा गएका थिए। भदौ ८ गते कक्षामा गएर उनले अब पढाउन आउँन सक्दिन भनेर विद्यार्थीलाई जानकारी गराएका थिए।  

त्यसपछि तीनचार सय विद्यार्थी शिक्षक बोहोराको पक्षमा नारा लगाउँदै विद्यालय बाहिर निस्किएर आन्दोलन सुरु गरेका थिए। विद्यार्थीको यो आन्दोनलमा अभिभावक पनि सहभागी भएका छन्। झण्डै ३–४ सय अभिभावकले हस्ताक्षर सङ्कलन गरेर शिक्षक बोहोराको सरुवा बदर गर्न माग गर्दै पालिकामा डेलिगेशन गएका छन्। 

भदौ ११ गते विद्यार्थी र अभिभावकले विद्यालय परिसरमै आन्दोलन गरेपछि प्रधानाध्यापक बालकृष्ण अधिकारीले भदौ  १५ गतेसम्म समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए। 

प्रधानाध्यापक अधिकारीको आश्वासन अनुसार  समस्या समाधान नभएपछि आइतबार भएको आन्दोलनमा विद्यालय क्षेत्रमा हतियारधारी सुरक्षाकर्मी राखेर सुरक्षा दिइएको थियो। 

प्रधानाध्यापक अधिकारीले विद्यालय व्यवस्थापन समितिका सदस्यमध्ये एक जना ‘हत्या मुद्दामा सजाय भुक्तान गरेका व्यक्ति’ रहेको र त्यस्तो व्यक्तिले समेत आफूलाई धम्की दिएको दाबी गरेका छन्।

बोहरा वराहक्षेत्र नगर शिक्षक सङ्घका उपाध्यक्ष पनि हुन्।  बोहराले अनावश्यक विद्यार्थीलाई उचालेर आन्दोलन चर्काएको  आरोप उनीमाथि लाग्दै आएको छ।  

वराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले कोसी माध्यमिक विद्यालयका शिक्षक बालकृष्ण बोहराको सरुवा कुनै राजनीतिक दबाब वा व्यक्तिगत मनमानीका कारण नभई नियमित प्रशासनिक प्रक्रिया अनुसार गरिएको दाबी गरे।   

विद्यालय व्यवस्थापन समितिको सिफारिसका आधारमा बोहरालाई सूर्यकुण्डस्थित माध्यमिक विद्यालयमा छ महिनाका लागि काज सरुवा गरिएको उनको भनाई छ। 

मेयरले कार्कीले भने, ‘यो सामान्य सरुवा हो, तर केही व्यक्तिले यसलाई अनावश्यक रूपमा ठुलो बनाएका छन्।’

मेयर कार्कीले शिक्षक बोहरामाथि विद्यालय र समितिमाथि सार्वजनिक रूपमा अनावश्यक टिप्पणी गर्ने, सामाजिक सञ्जालमा व्यक्तिगत आक्षेप लगाउने जस्ता गतिविधि दोहोर्‍याएको बताएका छन्। 

उनले भने, ‘यसअघि पनि शिक्षक महासङ्घ र सरोकारवालाहरूको उपस्थितिमा बोहराले आत्मालोचना गर्दै सच्चिने वाचा गरेका थिए। तर सम्झौता तोडेर फेरि त्यही व्यवहारका कारण बाध्य भएर काजमा पठाइएको हो।’ 

मेयर कार्कीले सामान्य सरुवालाई राजनीतिक रङ दिइएको बताए। ‘विद्यार्थीलाई वास्तविक कारण थाहा छैन, शिक्षक हटाइयो भनेर मात्रै बुझाइएको छ,’ उनले भने, ‘शिक्षकको भूमिका समाजलाई अनुशासन र संस्कार दिनु हो। बोहराको आचरण त्यसअनुरूप भएन।’

मेयर कार्कीले आजदेखि समस्याको समाधान हुने दाबी गरेका छन्। 

विद्यालयका प्रधानाध्यापक बालकृष्ण अधिकारी यो घटनापछि विद्यालय जान छाडेका छन्। उनले आफू बिरामी भएको भन्दै सहायक प्रधानाध्यापक लक्ष्मी राईलाई निमित्तको जिम्मा दिएर उनी बिदामा बसेका छन्। 

उनले फोन समेत नउठाई श्रीमतीलाई उठाउन दिने गरेका छन्। उनकी श्रीमती नेपाली काँग्रेसको क्षेत्रीय नेता हुन्। 

शिक्षक महासंघ वराहक्षेत्र नगरका अध्यक्ष इन्द्र बस्नेतले व्यवस्थापकीय समस्या भएको कारण विद्यालय अशान्त भएको बताए।  ‘व्यवस्थापन पक्षले समस्या समाधानको पहल नगर्दा अहिलेको अवस्था आएको हो, विद्यालय शान्ति क्षेत्र हो भन्ने कुरालाई सबैले बुझ्नु पर्छ,’ उनले भने, ‘वराहक्षेत्र अरू पालिकाको भन्दा नमुना थियो। आन्तरिक समस्याको कारण  कारण यो समस्या भएको हो।’  

सरुवा गरिएका शिक्षकलाई त्यहीँ राख्ने बित्तिकै समस्याको समाधान हुने  दाबी पनि उनको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad