समाज


गोसाइँकुण्डमा डुबेर ज्यान गुमाउने दुवै मोरङका

गोसाइँकुण्डमा डुबेर ज्यान गुमाउने दुवै मोरङका

शव निकाल्दै सुरक्षाकर्मी


नेपालखबर
साउन १२, २०८२ सोमबार १२:५८, विराटनगर

धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा डुबेर ज्यान गुमाउने दुवै जना    मोरङका युवाहरू रहेको खुलेको छ। 

मृत्यु हुनेमा मोरङको बेलबारी नगरपालिका–११ का २८ वर्षीय मनोज न्यौपाने र विराटनगर महानगरपालिका–३ का २६ वर्षीय सुजन ढकाल रहेका छन्। प्राप्त जानकारीअनुसार उनीहरू साउन १० गते काठमाडौँबाट रसुवातर्फ गएका थिए। साउन ११ गते गोसाइँकुण्ड पुगेका उनीहरू कुण्डमा नुहाउने क्रममा एक्कासि डुबेको प्रहरीले जनाएको छ। 

दुवै जनालाई डुबेको देखेपछि अन्य तीर्थयात्रीहरूले तत्काल सूचना दिए पनि तत्काल उद्धार सम्भव नभएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन भई खोजी कार्य थालिएको थियो। 

खोजीको क्रममा आज बिहान दुवै जनाको शव कुण्डबाट निकालिएको छ। उनीहरूको शव बिहान मात्रै निकालिएकोले कसरी काठमाडौँ लैजाने भन्ने बारेमा छलफल भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए।  

‘गोसाईँकुण्डबाट धुन्चे ल्याउन नै दुई दिन लाग्ने अवस्था छ,' उनले भने, 'पानी पनि परिरहेकोले बाटो अप्ठ्यारो छ। अब शव हेलिकप्टरबाट सिधै काठमाडौँ लैजानेबारे छलफल भइरहेको छ।’ 

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मृतकको पहिचान खुलेकोले शवलाई ल्याउने बारेमा समन्वय भइरहेको जानकारी दिए। 

गोसाइँकुण्ड, समुद्री सतहदेखि करिब ४,३८० मिटर उचाइमा रहेको एक प्रमुख धार्मिक तीर्थस्थल हो। जहाँ प्रत्येक वर्ष जनैपूर्णिमा तथा अन्य चाडपर्वमा हजारौं भक्तजन स्नान गर्न पुग्ने गर्छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad