समाज


मलेसियाबाट ‘मलाई बचाउनु दाइ’ भनेर म्यासेज लेखेका हरिप्रसाद सम्पर्कविहीन

मलेसियाबाट ‘मलाई बचाउनु दाइ’ भनेर म्यासेज लेखेका हरिप्रसाद सम्पर्कविहीन

नेपालखबर
साउन ७, २०८२ बुधबार १०:५१, खोटाङ

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका हरिप्रसाद राई पाँच दिन अघिदेखि सम्पर्कविहीन भएका छन्। 

तीन वर्षअघि मलेसिया पुगेर केएलस्थित रकन इख्लास सर्भिसेस कम्पनीमा कार्यरत २६ वर्षीय हरिप्रसाद साउन २ गतेदेखि सम्पर्कविहीन भएका हुन्। 

यसअघि उनले मलेसियामै रहेका साँहिला दाजु हिमाल राईलाई साउन १ गते आफू अप्ठ्यारोमा रहेको र बचाउन अनुरोध गरेको फेसबुक म्यासेज पठाएका थिए।

 ‘मलाई सिध्याउने षड्यन्त्र गरेका छन्। बोस (मालिक) लाई नभन्नु । उसले थाहा पायो भने मलाई सिध्याउँछ। अब मलाई घर पठाउँदैन । घर जानका लागि म भाग्नुपर्छ। तपाईँहरू सल्लाह गर्नुस्। दुई दिनको छुट्टी लिएर मलाई निकाल्नुस्,’ भनेर दाजु हिमाललाई म्यासेज लेखेको भोलिपल्ट साउन २ गतेदेखि हरिप्रसाद सम्पर्कविहीन भएका परिवारका सदस्यले बताएका छन्।  

काठमाडौँको सिनामङ्गलस्थित फाजल इन्टरनेसनल प्रालिबाट २०७९ साउन२८ गते मलेसिया पुगेका हरिप्रसाद मलेसियाको केएलस्थित स्यारोटन होटलमा सहयोगीको रूपमा काम गर्दै आएका थिए। कम्पनीमा आफूले कुनै गल्ती नगरे पनि अरुहरूले गरेको गल्तीलाई आफूमाथि थुपारेर दोष लगाउँदै मार्ने षड्यन्त्र गरेको दाजु हिमाललाई हरिप्रसादले पठाएको म्यासेजमा उल्लेख छ। 

रोजगारीको सिलसिलामा मलेसियामा रहेका भाइ हरिप्रसाद सम्पर्कविहीन भएपछि खोजी तीव्र पारेको दाजु हिमालले बताए। म्यासेन्जरमा बोल्दा–बोल्दै भाइ सम्पर्कविहीन भएपछि मलेसियास्थित नेपाली राजदूतावास र भाइ कार्यरत कम्पनीलाई खोजिगरी दिन आग्रह गरेको हिमालले बताए। 

हरिप्रसाद सम्पर्कविहीन भएको जानकारी प्राप्त भएलगत्तै मेनपावर कम्पनी र नेपालस्थित परराष्ट्र मन्त्रालयमा जानकारी गराइएको नेपालस्थित मेनपावर कम्पनीका प्रतिनिधि निरज दाहालले जानकारी दिए।

‘हरिप्रसाद कम्पनी छाडेर भागेको देखिन्छ। कम्पनीमै भएको खण्डमा कम्पनी सञ्चालकलाई भनेर केही गर्न सकिन्थ्यो’, उनले भने, ‘कम्पनी छाडेर भाग्नु हरिप्रसादको गल्ती देखिन्छ। अहिले म त्यो मेनपावर कम्पनीमा काम गर्दिन। यद्यपि, ममार्फत गएको हुनाले मेनपावर कम्पनी र नेपालस्थित परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको छु।’  रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad