समाज


चन्दा संकलन गरेर प्रहरी चौकी निर्माण

चन्दा संकलन गरेर प्रहरी चौकी निर्माण

नेपालखबर
असार २७, २०८२ शुक्रबार ७:५४, खोटाङ

खोटाङका स्थानीयले चन्दा सङ्कलन गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित प्रहरी चौकीमा सिसी क्यामेरा जडान तथा पूर्वाधार विकासको काम गरेका छन्। 

प्रहरी चौकीको सेवा क्षेत्रभित्र पर्ने स्थानीयवासी तथा विभिन्न क्षेत्रका दाताबाट स्वेच्छिक रूपमा सङ्कलन भएको रु १२ लाख ४४ हजार ४६६ रकमबाट व्यवस्पान समितिमार्फत सिसी क्यामेरा जडान, प्रतिक्षालय तथा गोलघर निर्माण र कार्यालय व्यवस्थापनको काम गरिएको हो।

प्रहरी चौकी व्यवस्थापन समितिका अध्यक्ष सन्तोष राईका अनुसार चन्दा सङ्कलन अभियानका क्रममा सङ्कलित रमकमध्ये रु १० लाख सात हजार ४९७ रकम सामान खरिद तथा जडानमा खर्च भएको छ। जसमा वडा नं १४ र १५ बाट आगामी आर्थिक वर्षको बजेटबाट रु दुई लाख ११ हजार १११ जम्मा हुन बाँकी रहेको र समितिको खातामा नगद रु २५ हजार ८५८ रहेको छ।

प्रहरी चौकी बुइपामा चन्दा सङ्कलनबाट खरिद गरिएको १४ वटा सिसी क्यामेरा जडान, एक–एकवटा प्रतिक्षालय तथा गोलघर निर्माण, पाँचवटा सडक सूचना बोर्ड र कार्यालय व्यवस्थापनको काम गरिएको छ। 

आफ्नै जग्गामा आरसिसी पक्की कार्यालय भवन निर्माण गरेर सञ्चालन गरिएको प्रहरी चौकीको कार्यालय व्यवस्थापनका लागि नगरपालिकाको तर्फबाट सोफा सेट, चन्दा सङ्कलनबाट कार्पेट र पर्दा खरिद तथा स्थानीयको श्रमदानबाट कार्यालय भवन मर्मत गरिएको छ। 

स्तरोन्नति तथा व्यवस्थापनका लागि सङ्कलन गरिएको रकम र व्यवस्थापन समितिको गतिविधिका बारेमा प्रहरी चौकी बुइपाले बिहीबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेर आर्थिक तथा भौतिक प्रगतिको प्रतिवेदन सार्वजनिक गरेको छ। 

प्रहरी चौकीको प्राङ्गणमा आयोजना गरिएको सार्वजनिक सुनुवाइमा बुइपाका वडाध्यक्ष दिनेश राई, विजयखर्कका वडाध्यक्ष रामबहादुर कटवाल, स्थानीयस्तरमा क्रियाशील विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति थियो। 

समुदाय र प्रहरीबीचको साझेदारीले सिङ्गो समाज सुरक्षित राख्नका साथै सानातिना काममा राज्यको मुख ताक्नुभन्दा आफैँ अग्रसर भएर लाग्दा छोटो समयमा नै समाज परिवर्तन गर्न धेरै सकिने सहभागी वक्ताहरूले बताएका छन्। सार्वजनिक सुनुवाइले पारदर्शिता तथा सामुदाय र प्रहरीबीच सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको व्यवस्थापन समितिका अध्यक्ष राईले बताए।

सिसी क्यामेरा र भौतिक पूर्वाधार विकासका संरचना गत २०८२ वैशाख २४ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले औपचारिक रूपमा उद्घाटन गर्नुभएको थियो। गोरखा–रुजन जेभी काठमाडौँले २०७६ असार १७ गते सम्झौता गरेर तोकिएकै समयमा दुईतले पक्की भवन निर्माण गरेको हो।

प्रहरी चौकी बुइपाको कार्यालय भवनमा महिला तथा पुरुषका लागि छुट्टाछुट्टै हिरासत, कार्यालय प्रमुख तथा जवानका लागि छुट्टाछुट्टै कोठा र शौचालयको व्यवस्था गरिएको छ। सहरी विकास तथा भवन डिभिजन कार्यालय ओखलढुङ्गाको रु दुई करोड दुई लाख लगानीमा निर्माण गरिएको प्रहरी चौकी बुइपाको भवन २०७८ साल कातिक १७ गते उद्घाटन गरिएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad