समाज


भोजपुरमा ज्वाइँले पत्नीसहित ससुराली पक्षका चार जनाको हत्या गरे, आरोपी पनि गम्भीर घाइते

भोजपुरमा ज्वाइँले पत्नीसहित ससुराली पक्षका चार जनाको हत्या गरे, आरोपी पनि गम्भीर घाइते

घटनास्थल


सुमन सुस्केरा
असार २२, २०८२ आइतबार ७:२३, विराटनगर

भोजपुरको रामप्रसाद राई गाउँपालिकामा गएराति चार जनाको सामूहिक हत्या भएको छ। घटनामा एकजना गम्भीर घाइते भएका छन्। 

रामप्रसाद राई-२ को धोद्लेखानी बोन्थिताङमा चार जनाको सामूहिक हत्या भएको अवस्थामा आइतबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ। 

पारिवारिक विवादका कारण एकै परिवारका चार जनाको हत्या भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार भोजपुर नगरपालिका–२ हेलाउछ बस्ने ३० वर्षीय राजेन्द्र राईले आफ्नै ससुरालीमा गएर परिवारका चार जनालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन्।

हतियार प्रहारबाट मृत्यु हुनेमा राजेन्द्रकी श्रीमती, सासु ४५ वर्षीया मञ्जु गिरि, ससुरा ६८ वर्षीय बेलबहादुर गिरि र सालो रहेका छन्। सालाेकाे नाम खुल्न बाँकी छ।

घटनापछि आफैँले हतियार प्रयोग गर्दा राजेन्द्र राई पनि गम्भीर घाइते भएका छन्। उनलाई तत्काल उद्धार गरी उपचारकाे लागि जिल्ला अस्पताल भोजपुर लगिएको प्रहरीले जनाएको छ।

‘घटना गएराति सवा १ बजेतिर भएको हो,’ प्रहरी निरीक्षक श्रेष्ठले नेपालखबरसँग भने, ‘प्रारम्भिक अनुसन्धानका क्रममा राजेन्द्र राई ससुराली गएका बेला विवाद चर्किएपछि उनले मध्यराति धारिलो हतियारले पत्नीसहित ससुराली पक्षमाथि आक्रमण गरेको देखिन्छ।’

प्रहरीले घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरेको उनले बताए। घटनाको विस्तृत विवरण संकलन भइरहेको श्रेष्ठले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad