समाज


साउन १ देखि बर्डफ्लु देखिएको छैन : पशु सेवा विभाग

साउन १ देखि बर्डफ्लु देखिएको छैन : पशु सेवा विभाग

नेपालखबर
साउन ७, २०८३ बिहिबार १०:१८, काठमाडौँ

पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रण हुन थालेको छ।

राजधानी काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका थिए।

तर पशु सेवा विभागका अनुसार यही साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन।

पछिल्लोपटक काठमाडौँको गोकणेश्वर-१ सुन्दरीजलमा संक्रमण देखिएको थियो।

विभागका महानिर्देशक डा उमेश दाहालका अनुसार पछिल्लो समय संक्रमण देखिएको छैन।

संक्रमण भएका वरपरका क्षेत्रबाट नमुना ल्याएर परीक्षणको काम भइरहेको छ।

उनले भने, ‘अहिले नियन्त्रित अवस्थामा छ। बर्डफ्लु देखिएका क्षेत्र वरिपरिका नमुना ल्याएर परीक्षण गर्दै छौँ।’

विभागको तथ्यांकअनुसार चैत ४ गते केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पिसिआर विधिबाट गरिएको परीक्षणमा रोग पुष्टि भएको थियो।

यससँगै चैत ६ गते कृषि तथा पशु पन्छी बिकास मन्त्रालयबाट बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरिएको थियो।

मोरङका उर्लाबारी-८ र सुन्दर हरैचा-४ मा पहिलोपटक बर्डफ्लु देखिएको थियो।

दाहालका अनुसार कमर्सियल लेयर्स बढी प्रभावित भएको थियो।

यस्तै प्यारेन्ट, कमर्सियल ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की र कालिजमा रोगको संक्रमण भएको थियो।

हालसम्म ११ जिल्लामा संक्रमण देखिएको छ।

काठमाडौँ उपत्यका बाहेकका सात जिल्लामा रोग पूर्ण रूपमा नियन्त्रणमा आइसकेको उनले बताए।

काठमाडौँ उपत्यका र काभ्रे जिल्लामा मात्र ११९ स्थानमा रोग पुष्टि भएको छ।

काठमाडौँ उपत्यकामा मात्र ९२ स्थानमा संक्रमण देखिएको थियो। जसमध्ये काठमाडौँमा ३२, ललितपुरको सदर चिडियाखाना गरी १५ र भक्तपुरमा ४५ ठाउँमा संक्रमण देखिएको थियो।

काभ्रेपलाञ्चोकमा मात्र २७ स्थानमा संक्रमण देखिएको विभागले जनाएको छ।

विभागका वरिष्ठ पशु चिकित्सक डा मुकुल उपाध्यायका अनुसार नेपालभर ८ लाख ३५ हजार ५६३ वटा पन्छी नष्ट गरिएको छ।

एघार लाख ६५ हजार ६६३ वटा अण्डा, दुई लाख ४५ हजार ३५ किलो दाना नष्ट गरिएको छ।

काठमाडौँ उपत्यकाभित्र र काभ्रेमा मात्र तीन लाख ६७ हजार ८३५ वटा पन्छी नष्ट गरिएको थियो।

महानिर्देशक दाहालका अनुसार प्रभावित कृषकलाई तत्काल सरकारले राहत उपलब्ध गराएको छ।

रु ५० करोड बजेट रकमान्तर भई रु ५२ करोड व्यवस्थापन भएकोमा हाल सम्म १०४ जना कृषक र फर्मको खातामा रु ५० करोड ७१ लाख १५ हजार ७०४ राहत रकम निकासा गरिसकेको छ।

देशभर रहेका पन्छी रोग अन्वेषण प्रयोगशालाले तीव्र रूपमा परीक्षण अघि बढाएका छन्।

सरकारको तदारुकता र किसानको सहयोगका कारण बर्डफ्लु नियन्त्रणमा आउन सकेको हो।

अब थप संक्रमण हुने सम्भावना कम रहेको वरिष्ठ पशु चिकित्सक उपाध्याय बताउँछन्। 

संक्रमण घटेसँगै कुखुराको अण्डा र मासुको खपत बढ्न थालेको छ।

यससँगै किसानले मूल्य पाउन थालेका छन्।

संक्रमणका कारण मूल्य घटेपछि किसान प्रभावित बनेका थिए। चल्ला बिक्री नहुँदा नष्ट गर्नुपर्ने बाध्यता आएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad