सुनसरीकाे धरान उपमहानगरपालिकाले सञ्चालन गरेको श्रम शिविरमा एक किशोरीमाथि यौन दुर्व्यवहार भएको घटना बाहिर आएको छ।
धरान उपमहानगरपालिका–१६ मा सञ्चालन भएको श्रमदानका क्रममा एक किशोरीमाथि यौन दुर्व्यवहार भएको भन्दै पीडित परिवारले प्रहरीमा उजुरी गरेका छन्।
किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा ४९ वर्षीय खगेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ। पीडित परिवारको किटानी जाहेरीपछि राईलाई बुधबार साँझ धरान–१७ पृथ्वीचोकबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जवेगुले जानकारी दिए। उनलाई आजै सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ।
गत वैशाख १७ गते धरान १६ स्थित बहुभाषिक पाठशालामा धरानका मेयर हर्क साम्पाङ राईको नेतृत्वमा श्रमदान भइरहेको बेला राईले श्रमदानमा सहभागी किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोप छ। घटनाका बेला खाना पकाउने जिम्मेवारीमा रहेका राईलाई पीडितकी आमाले प्रतिकार गर्दै त्यतिबेलै कुटपिटसमेत गरेकी थिइन्।
पीडित पक्षका अनुसार घटना बाहिर नआओस् भनेर कुन्दन श्रेष्ठ र समीर तामाङले दबाब दिएका थिए। श्रेष्ठले ‘श्रमदाता आराेपी मानसिक रोगी हुन्, घटना बाहिरियो भने बच्चीको भविष्य बिग्रन्छ’ भन्दै प्रहरीलाई जानकारी दिनबाट रोक्न खोजेको पीडित परिवारको आरोप छ। घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ
पीडितले माफी माग्नुपर्ने मेयर साम्पाङको चेतावनी
घटना बाहिरिएपछि मेयर साम्पाङले सामाजिक सञ्जालमा घटनाको सुनुवाइ आफैँ गर्ने बताएका थिए। उनले ‘दुर्व्यवहार प्रमाणित भए म कारबाही गर्छु, नत्र पीडितले माफी माग्नुपर्छ,’ भन्दै उल्टै पीडितलाई नै चेतावनी दिएका थिए।
यौन दुर्व्यवहारजस्तो गम्भीर विषयमा मेयर आफैँले कारबाही गर्ने भनाइप्रति धरान- १६ का वडाध्यक्ष मुरारी भट्टराईले आपती जनाएका छन्। उनले यसलाई कानुनी प्रक्रिया बाइपास गर्ने प्रयासकाे रूपमा टिप्पणी गरेका छन्।
स्थानीय बहुभाषिक पाठशालामा खोलाले कटान गरेपछि तारजाली लगाउन श्रमदान गरिएको थियो। सोही श्रमदानको बेला किशोरीमाथि यौन दुर्व्यवहार भएको आरोप छ।
यो श्रमदानको क्रममा मेयर सामपाङ र उपमेयर आइन्द्र विक्रम बेघाबीच विवादसमेत भएको छ। उपभोक्ता समिति गठन र खर्चमा अनियमितता देखिएको भन्दै मेयरले रकम निकासा नगरेपछि मेयर राईसँग उपमेयरको विवाद चर्किएको थियो।
विवादका क्रममा मेयर समर्थकहरूले उपमेयरमाथि हातपात प्रयास गरेपछि नेकपा माओवादी केन्द्रले धरान उपमहानगर घेराउसमेत गरेको थियो। सो विवादका कारण धरान उपमहानगरको बजेट प्रक्रियासमेत अवरुद्ध भएको छ।
प्रहरी चौकी भवन निर्माण रोक्न मेयर साम्पाङले प्रदेश सरकारमा दबाब दिएपछि विवाद चुलिएको थियो। चौकी निर्माण स्थलमा मेयर समर्थकले तालाबन्दी गरेपछि घटनाको चर्चा चुलिएको र श्रमदानकै क्रममा भएको यौन दुर्व्यवहारको घटना बाहिरिएको हो।
Shares

प्रतिक्रिया