समाज


षडानन्दका ८ सय घरमा खानेपानी धारा जडान

षडानन्दका ८ सय घरमा खानेपानी धारा जडान

नेपालखबर
असार ८, २०८२ आइतबार ८:३, भाेजपुर

लोमाखोला खानेपानी आयोजनामार्फत भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकाका आठ सय घरमा ‘एक घर एक धारा’ सञ्चालनमा आएको छ। पानीको समस्यामा रहेका यहाँका आठ सय घरमा धारा जडान गरिएको हो।

बस्तीमा पानी वितरण थालिएपछि वर्षौँदेखिको पानीको समस्या हटेको षडानन्द– १२ टारीगाउँका स्थानीयवासी मोहन तामाङले बताए। एक गाग्री पानीको जोहो गर्न रातको समयमा धारामा पालोमा बस्नुपर्ने अवस्थामा घरमै धारा जडान भएपछि सहजता भएको तामाङको भनाइ छ।

धारा जडान भएपछि दैनिकी नै फेरिएको स्थानीय ८३ वर्षीय वृद्धा हीमादेवी कार्कीले बताइन्।

षडानन्द नगरपालिकाका ८, ९, १०, ११ र १२ वडाका एक हजार ४१६ घरमा पानी वितरण गर्ने लक्ष्यका साथ आयोजना सञ्चालन भइरहेको छ। दुई योजनामा सञ्चालन भइरहेको आयोजनालाई आगामी आर्थिक वर्षभित्र पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण उपभोक्ता समितिले जनाएको छ।

निर्माण उपभोक्ता समितिका अध्यक्ष राजनविक्रम राईका अनुसार आयोजनाबाट तत्काललाई पानीको अति नै समस्या रहेका क्षेत्रमा पानी वितरण भइरहेको छ।

यस आर्थिक वर्षमा पनि तीव्रगतिमा निर्माणको काम भइरहेकाले यस वर्ष नै एक हजार घरपरिवारमा पानी वितरण गर्ने लक्ष्य छ।

आयोजनाको स्किम–१ अन्तर्गत १२ वटा ट्याङ्कीमध्ये नौदेखि ७५ घनमिटरसम्मका नौवटा निर्माण सम्पन्न भएको अध्यक्ष राईको भनाइ छ। त्यस्तै दोस्रो स्किमको पाँचवटा नै वितरण ट्याङ्की निर्माण सम्पन्न गरिएको उनले जानकारी दिए। पहिलो ठूलो स्किमअन्तर्गत कमेरे, देउसे र दोस्रो स्किम कखुवा सिस्नेटार मुहानबाट पानी ल्याइएको छ।

पानी मुहानमा पानी प्रशोधन संरचना नरहेकाले बर्खाको समयमा बालुवा, गिट्टी आउने तथा धारा जाम हुने समस्या रहेको निर्माण उपभोक्ता समितिको भनाइ छ । साथै यही क्षेत्रमा सडक विस्तार भइरहेकाले कामलाई चाँडो अघि बढाउन समस्या रहेको निर्माण समितिले जनाएको छ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख आशुतोष ठाकुरका अनुसार हालसम्म आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएको छ। श्रमदानसहित यो आयोजनाको अनुमानित कुल लागत २८ करोड ५१ लाख रहेको छ। आयोजनाको वितरण लाइन खन्ने र पुर्ने काम श्रमदानमार्फत गर्ने सम्झौता रहेको छ।

यस आयोजनालाई आगामी वर्षभित्रमा सम्पन्न गराउने कार्यालयको लक्ष्य छ। दुई स्किममा गरी यो आयोजनाको मुख्य पाइप लाइन विस्तार करिब ४७ किलोमिटर र वितरण लाइन करिब एक सय ५३ किलोमिटर रहेको छ।

निर्माणाधीन खानेपानीबाट पहिलो चरणको पानी वितरण थालिएपछि स्थानीय नागरिकलाई सहजता भएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले बताए। खानेपानी आयोजनालाई समयमा सम्पन्न गराउन नगरको तर्फबाट आवश्यक भूमिका खेलिरहेको उनको भनाइ छ। यो योजनाको काम सम्पन्न भएपछि यहाँका पाँचवटा वडाका नागरिकलाई पानीको सुविधा पुग्ने उनको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad