ad ad

समाज


ताप्लेजुङमा मध्यराति पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

ताप्लेजुङमा मध्यराति पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

फाइल तस्बिर


नेपालखबर
जेठ ३२, २०८१ शुक्रबार ८:७, काठमाडौँ

ताप्लेजुङको फक्ताङलुङमा पहिरोमा पुरिएर एकै घरका चार जनाको मृत्यु भएको छ। 

पहिरोमा पुरिएर अन्य दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

अविरल वर्षासँगै फक्ताङलुङ गाउँपालिका-२ खेजिनिममा गएराति करिब १ बजे पहिरो गएको हो। 

पहिरोले घर पुरिँदा घरमुली ७० वर्षीय रामबहादुर चाम्रा लिम्बू, उनकी श्रीमती ४८ वर्षीया जसमाया, उनीहरुका जुम्लिया छोरीहरु नौ वर्षीया गंगा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी रवि रावलले जानकारी दिए। 

‘उहाँहरुको भिरालो जमिनमा ढुंगामाटोले बनेको २ तले घर रहेछ। राति घरमा सुतिरहेको बेला माथिबाट आएको पहिरोले घर बगाउँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो,’ डीएसपी रावलले नेपालखबरसँग भने, ‘पहिरोले घर घण्डै ४० मिटर तलसम्म पुर्याएको छ।’

उनले शव पोस्टमार्टमको लागि अस्पताल लैजाने तयारी भइरहेको जानकारी दिए। पहिरोले घरसँगै रहेको गोठ बगाउँदा चौपाया पनि मरेका छन्। 

त्यसैगरी साेही गाउँमा गएको अर्को पहिरोमा परेर स्थानीय ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीया छोरी  घाइते भएका छन्। 

‘घटनास्थल सदरमुकामबाट चार घण्टाको पैदल दुरीमा पर्छ,’ डीएसपी रावलले भने, ‘घटनास्थलमा हाम्रो कार्यालयबाट प्रहरी निरीक्षक कमल लुंगेलीको कमाण्डमा प्रहरी टोली पुगेको छ। प्रहरी चौकी शिवाबाट पनि प्रहरीहरु गएका छन्। अहिले उद्धारको काम चलिरहेको छ।’

ताप्लेजुङमा बाढी पहिरोले पुर्याएको क्षतिको यकिन बिवरण संकलन गर्न बाँकी रहेको उनले बताए। 

गत बुधबार रातिदेखिको परिरहेको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छवटा पुल बगाइसकेको छ। पुल बगेपछि यातायातका साधन सञ्चालनमासमेत समस्या भएको डीएसपी रावलले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .