समाज


धरानमा हत्या गरिएकी युवती कक्षा १२ मा पढ्ने विद्यार्थी, अभिभावकले गरे सनाखत

खोल्सामा शव भेटिएपछि गाउँमा भागाभाग
धरानमा हत्या गरिएकी युवती कक्षा १२ मा पढ्ने विद्यार्थी, अभिभावकले गरे सनाखत

घटनास्थलमा तालिमप्राप्त कुकुरसहित प्रहरी। तस्बिर स्रोत : सी द अनसिन


नेपालखबर
चैत ८, २०८० बिहिबार ७:५७, काठमाडौँ

सुनसरीको धरानमा हत्या गरेको अवस्थामा भेटिएकी युवतीको शवको सनाखत भएको छ। 

धरान उपमहानरपालिका-१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा र डिपोट स्कुलबीचको एकान्त ठाउँमा बुधबार दिउँसो घाँटी रेटेर हत्या गरेको अवस्थामा एक युवतीको शव फेला परेको थियो। 

उक्त शव धरान- १६ निवासी महेन्द्र श्रेष्ठकी २१ वर्षीया छोरी सुमना श्रेष्ठको भएको सुनसरी प्रहरीले जनाएको छ। 

‘बुधबार साँझ अभिभावक आएर शवको सनाखत गरेका छन्। हामी थप अनुसन्धान गर्दैछौँ,’ जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नवीनकृष्ण भण्डारीले नेपालखबरसँग भने, ‘यो घटनासँग सम्बन्धित थप विवरण हामी पछि सार्वजनिक गर्ने छौँ।’

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी नवराज मल्लका अनुसार युवती धरानकै एक कलेजमा कक्षा १२ मा अध्ययनरत थिइन्। ‘उनको हत्या कसरले किन गर्यो खुलेको छैन,’ मल्लले भने, ‘हामीले सुस्म ढंगले थप अनुसन्धान अघि बढाएका छौँ। मृतक युवतीका अभिभावक आज जाहेरी लिएर यहाँ आउँदै हुनुहुन्छ।’ 

जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारीसमेत रहेका डीएसपी भण्डारीका अनुसार घटनामा संलग्न भएको आशंकामा अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन। ‘घटनामा संलग्न चाँडै पक्राउ पर्छन्। यस विषयमा थप विवरण हामी पछि भनौँला,’ उनले भने। 

घटनापछि त्यस क्षेत्रका केही मान्छे फरार छन्। प्रहरीले उनीहरुमाथि अनुसन्धान अघि बढाइएको जनाएको छ।

बुधबार दिउँसो साढे २ बजेतिर एकजना महिलाले बाख्रा चराउने क्रममा युवतीको शव देखेकी थिइन्। सडक छेउको खोल्सामा घोप्टो परेकाे अवस्थामा शव भेटिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो। प्रहरीले शवभन्दा केही मिटर पर खुकुरी पनि फेला पारिएको जनाएको छ।

युवतीको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। प्रहरीले तालिमप्राप्त कुकुरको सहायतामा घटनाको थप अनुसन्धान अघि बढाइएको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .