समाज


अब ‘चार जात ९२ वर्ण’, झापाका हरिध्वज तिमल्सिनाले लेखे नयाँ पुस्तक

अब ‘चार जात ९२ वर्ण’, झापाका हरिध्वज तिमल्सिनाले लेखे नयाँ पुस्तक

नेपालखबर
माघ ५, २०८० शुक्रबार १३:१, झापा

झापा कनकाई नगरपालिका–७ का ९० वर्षीय हरिध्वज खत्री तिमिल्सिनाले नेपालमा बसोबास गर्ने विभिन्न जातजाति र उनीहरुको गोत्रको विषयलाई समेटेरे ‘नेपाल मण्डल’ पुस्तक लेखेका छन्। करिब १० वर्ष लगाएर उनले यो पुस्तक तयार गरेका हुन्।

नेपाल निर्माता पृथ्वीनारायण शाहले ‘नेपाल चार जात ३६ वर्णको साझा फूलबारी हो’ भने पनि अहिले नेपालमा चार जात एक सय २४ वर्ण पुगिसकेको तिमिल्सिनाको दाबी छ। जसमध्ये चार जात ९२ वर्णको बारेमा तथ्यपरक जानकारीसहित पुस्तक प्रकाशन गरेको उनले बताए।

लोपोन्मुखदेखि बहुसङ्ख्यकसम्मका जातजातिको थर र उनीहरुको गोत्रका बारेमा पुस्तकमा उल्लेख गरिएको छ । नेपालका विभिन्न भू–भागमा रहेका मानिसको थर कसरी रहन गयो भन्ने विषयमा समेत पुस्तकमा संक्षिप्त चर्चा गरिएको लेखक तिमिल्सिनाले बताए। अनुसार पुस्तकमा दुई खण्ड र १५ अध्याय रहेका छन्। 

पहिलो खण्डमा आठ वटा अध्याय छन् भने दोस्रो खण्डमा सात अध्याय छन् । पहिलो खण्डका आठ अध्यायमा ‘अ’ देखि ‘ह’सम्मको स्वर वर्णद्वारा उच्चारित थर उल्लेख छन् । त्यस्तै, दोस्रो खण्डमा ‘अ’ देखि ‘ह’सम्मको स्वर वर्णद्वारा उच्चारित गोत्र उल्लेख छन्।

पहिलो खण्डमा उराउ, कत्युरी, करुवा, कागते, कुमाल, किसान, बातर, कुशबाडिया, कुसुण्डा, कुसुले, खटिक, देवकी, खडिया, गनगाई, गन्धर्व, गुरुङ, चमार, चिडिमार, चिन्तान, चेपाङ, चाइँ, छन्त्याल, छिन्तन, छैरोतन, जिरेल, जेरुङ, झाँगड, डुक्पा, डोम, डोल्पो, ताङबे, ताजपुरिया, तामाङ, तोक्पेगोला, तिलुङ, तिलुङा, थकाली, थामी, थारु, थुदाम, दनुवार, दराई, दर्जी, दमाई, दशनामी, दुरा, धानुक, धिमाललगायत जातजातिका थरको बारेमा उल्लेख गरिएको छ। 

चार सय ५६ पृष्ठको ‘नेपाल मण्डल’को मूल्य रू चार सय ४५ रहेको छ। करिब एक दशक लगाएर पुस्तक निकालेको बताउँदै लेखक तिमिल्सिनाले भने, ‘पाठकका लागि जानकारीमूलक खुराकको रुपमा पुस्तक रहेको छ । यसले नेपालको विभिन्न जातजातिको अवस्थितिबारे थाहा पाउन सकिन्छ।’  पछिल्लो पुस्तक पढ्ने क्रम घट्दै गएकाले पठन संस्कृतिको विकास गर्नुपर्नेमा उनको जोड छ।

तिमिल्सिनाले यस अघि नेपालको इतिहास समेटिएको पहिलो पुस्तक ‘नेपाल’ लेखिसकेका छन्। जसमा तत्कालीन तीन हजार नौ सय १५ गाउँ विकास समितिको नामकरण के–कसरी भयो भन्ने उल्लेख छ । ‘नेपाल नेवारी’ पुस्तक प्रकासोन्मुख अवस्थामा रहेको उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad