भेरी नदीबाट जथाभावी ढुंगा, गिट्टी र बालुवा उत्खनन गरिरहेका डोजर र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय, सुर्खेतको टोलीले भेरीगंगा र लेकबेशी नगरपालिकाका विभिन्न क्षेत्रबाट नदी दोहनमा प्रयोग भएका विभिन्न १७ वटा डोजर र टिपर नियन्त्रणमा लिइएको हो। गएराति प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्स्पेटर दीपक मग्रातीले बताए।
विशेष सूचना र पालिकाको आग्रहमा खटिएको प्रहरी टोलीले उत्खनन स्थलमै पुगेर सवारी साधन नियन्त्रणमा लिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रमुख एसपी सुदिरराज शाहीले १२ टिप्पर, दुई ट्याक्टर, दुई जेसीभी र एक स्काभेटरलाई नियन्त्रणमा लिएको जानकारी दिए। उनकाअनुसार भेरीगंगा नगरपालिका-१३ को सालटाकुरा र लेकवेशी नगरपालिका-७ को पटारे क्षेत्रमा भेरी नदीको बहाव नै प्रभावित हुने गरी अवैध उत्खनन भइरहेको थियो।
एसपी शाहीले सम्बन्धित पालिकाले तयार पारेको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन विपरीत गतिविधि गरेपछि नियन्त्रणमा लिएको बताए। ‘उत्खनन नै गर्न नपाइने भन्ने होइन, तर तोकिएको विधि र प्रक्रिया मिचिएकाले कारबाही गरिएको हो,’ एसपी शाहीले भने।
नियन्त्रणमा लिइएका सवारी साधन अब सम्बन्धित नगरपालिकाको जिम्मा लगाइने प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया