नेपाल मेडिकल काउन्सिलले ३६ जना चिकित्सकको लाइसेन्स खारेज गरेकोमा गैरआवासीय नेपाली संघले आपत्ति जनाएको छ।
संघका प्रवक्ता सोमनाथ सापकोटाले प्रेस विज्ञप्ति जारी गरी लाइसेन्स खारेज गर्ने निर्णयप्रति ध्यानाकर्षण भएको जनाएका छन्। विदेशमा गैरआवासीय नेपाली (एनआरएन) हैसियतमा रहेका ३६ जना नेपाली चिकित्सकको लाइसेन्स खारेज गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णयप्रति गैरआवासीय नेपाली संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ सापकोटाले भनेका छन्, ‘उक्त निर्णयले सम्बन्धित चिकित्सकको पेशागत भविष्य मात्र नभई विदेशमा कार्यरत सम्पूर्ण नेपाली चिकित्सक समुदायको मनोबलमा समेत नकारात्मक प्रभाव पारेको हाम्रो ठहर छ।’
संविधानले गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गरिसकेको अवस्थामा बसोबासको आधारमा चिकित्सकको पेशागत पहिचानमाथि प्रश्न उठाउने वा खोस्ने कार्य न्यायोचित नभएको संघले जनाएको छ। ‘चिकित्सा पेशा मानव सेवासँग प्रत्यक्ष सम्बन्धित संवेदनशील क्षेत्र भएकाले यस्ता निर्णयहरू गर्दा परामर्श, स्पष्ट आधार तथा प्रक्रियागत पारदर्शिता अनिवार्य रूपमा पालना गरिनु आवश्यक हुन्छ। तर सम्बन्धित चिकित्सकसँग पूर्वजानकारी, समन्वय तथा संवादविना नै गरिएको लाइसेन्स खारेजीको प्रक्रियाप्रति हाम्रो गम्भीर आपत्ति छ,’ संघले भनेको छ।
सरकारले ‘सीप हस्तान्तरण’को नीति अघि सारेको अवस्थामा उच्च दक्षता भएका चिकित्सकलाई नै निरुत्साहित गर्नु गलत अभ्यास भएको संघको ठहर छ। ‘एक पटकको नेपाली, सधैँको नेपाली भन्ने अवधारणालाई व्यवहारमा लागू गर्दै डायस्पोराको योगदानलाई सम्मान गर्ने र उनीहरूको सीप तथा दक्षताको उपयोग सुनिश्चित गर्ने समावेशी नीति निर्माण गर्न हामी सरकारको ध्यानाकर्षण गराउँदछौँ,’ विज्ञप्तिमा भनिएको छ।
यससँगै संघले सम्बन्धित सरोकारवालासँग आवश्यक संवादमार्फत न्यायोचित, पारदर्शी र व्यवहारिक समाधान खोज्न पनि अनुरोध गरेको छ। ‘यस विषयमा सम्बन्धित निकायले आवश्यक पुनर्विचार गर्नेछ भन्ने अपेक्षासहित पुनः ध्यानाकर्षण गराउँदछौँ,’ संघले भनेको छ।
Shares

प्रतिक्रिया