समाज


हुम्लाका ६९ ज्येष्ठ नागरिकले पाए आँखाको ज्योति

हुम्लाका ६९ ज्येष्ठ नागरिकले पाए आँखाको ज्योति

नेपालखबर
मंसिर १०, २०८२ बुधबार १४:५९, काठमाडौँ

हुम्ला सदरमुकाम सिमकोटमा सञ्चालन भएको निःशुल्क आँखा शिविरबाट ६९ जना ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिले आँखाको ज्योति पाएका छन्। 

नेपाल नेत्रज्योति सङ्घ हुम्ला शाखा, नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित हिमालय आँखा अस्पताल पोखराद्वारा रेडी आई फाउण्डेशनको आर्थिक एवं प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो। तीन दिनसम्म सञ्चालित शिविरमा ६ सय १२ जनाले सेवा लिएका छन्। 

उनीहरूमध्ये ६९ जनाको मोतीबिन्दुको निःशुल्क शल्याक्रिया गरिएको शिविरमा सहभागी हिमालय आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा. अनिल पराजुलीले बताए। तीन दिने शिविरमा निःशुल्क आँखा परीक्षण, औषधि वितरण, मोतीबिन्दु शल्यक्रिया र चस्मा वितरण गरिएको उनले जानकारी दिए। 

हुम्लाको नाम्खा, सिमकोट, खार्पुनाथ, सर्केगाड र चङ्खेली गाउँपालिकालाई लक्ष्य गर्दै शिविर आयोजना गरिएको थियो। नेत्ररोग विशेषज्ञ डा. पराजुलीले मोतीबिन्दु रोग पत्ता लागेका सबै सेवाग्राहीको निःशुल्क शल्यक्रिया गरिएको बताए। 

शिविरमा बालबालिका, ज्येष्ठ नागरिक तथा आँखाका समस्या भएका सेवाग्राही लाभान्वित भएका छन्। न्यून दृष्टि भएका बालबालिका तथा फरक क्षमता भएका सेवाग्राहीका लागि आवश्यकताअनुसार थप उपचार तथा चस्मा वितरणको व्यवस्था गरिएको थियो। 

यसपछि हुम्लाको अदानचुली गाउँपालिकामा पनि शिविर सञ्चालन हुने रेडी आई फाउण्डेशनले जनाएको छ। शिविर सञ्चालन गर्न  नेपाल रेडक्रस सोसाइटी शाखा र जिल्ला आँखा उपचार केन्द्रले पनि समन्वय गरेका थिए। (रासस)     

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad