समाज


मलामी पनि नभेटिने गरी रित्तियो गडीगाउँ, घरआँगनमै वनमाराको झाडी

जंगली जनावरको आतंक बढ्यो
मलामी पनि नभेटिने गरी रित्तियो गडीगाउँ, घरआँगनमै वनमाराको झाडी

नेपालखबर
कात्तिक २, २०८१ शुक्रबार ९:२८, दैलेख

दैलेख सदरमुकामबाट निकै टाढा रहेको महाबु गाउँपालिका–५ कासिकाँध गडीगाउँमा पुराना बस्ती देखिए पनि मानिसको चहलपहल भने शून्यप्रायः छ। फाट्टफुट्ट भेटिने ज्येष्ठ नागरिक बस्ती सबै रित्तो भएको र जताततै वनमाराले राज गरेको गुनासो पोख्छन्।

१० वर्षअघि गाउँमा गाडीको प्रतीक्षा गरेर बसेकामध्ये अहिले औँलामा गन्न सकिने मानिस भेट्न कठिन छ। गाउँबाट उत्पादित जैविक उपज सवारीसाधनमा राखेर शहर पठाउने सपना साकार नहुँदै सोही सडकमा गुडेका सवारीसाधान चढेर गाउँका युवा शहर पसेपछि अहिले त्यहाँ मलामी पनि नभेटिने अवस्था छ। भौतिक विकासमा अग्रसर देखिने सरकार ग्रामीण बस्तीबाट हुने बसाइँसराइ रोक्नेतर्फ नलागेको उनीहरूको गुनासो छ। 

गडीगाउँमा रहेका रिजाल, आचार्य, खत्री, राउत र बाझखर्क टोल सुनसान छन्। २०७८ को राष्ट्रिय जनगणनाअनुसार त्यहाँका ३८ घरमा ३६६ जनाको बस्थे। अहिले १७ घरमात्र छन्। गाउँको जनसङ्ख्या १२० मा झरेको छ। 

‘पहिले बस्तीमा चहलपहल थियो, चाडबाडमा युवादेखि केटाकेटीसम्म सबै जम्मा हुन्थे। उत्पादन पनि राम्रै थियो, अहिले मानिस सुविधायुक्त स्थानमा जान थाले गाउँका बस्ती बाँझो जमिनमा परिणत भयो’, गाउँका अगुवा धनबहादुर थापा  भन्छन्, ‘बस्ती सबै रित्तो भो, रित्तो बस्तीमा अहिले वनमाराले राज गरेको छ।’ 

यस्तै गुनासो गर्नुहुन्छ रावत टोलका ७० वर्षीया दानबहादुर रावत। सत्तरी वर्षमा सहजै हिँडडुल गरी काम गर्न सक्ने उनलाई छिमेकीका घरको आँगन पनि अहिले परदेशजस्तो लाग्न थालेको छ। ‘निकै अप्ठ्यारो महसुस भएको छ, दिनभरि घरमा एक्लै बस्छु। दिन काट्न मुस्किल छ। दुःखसुखका कुरा गर्ने न दौँतरी छन् न छिमेकी नै’, उनी भन्छन्।

दानबहादुरको दुःखभन्दा कम छैन महाबु गाउँपालिका–५ काशीकाँधका ६९ वर्षीय दानेश्वर खत्रीको पनि। “सुविधा खोज्दै युवा शहर गए, गाउँमा रोजगारी भएन, युवा शहर पसेपछि परिवार पनि उतै लगे, अनि गाउँमा को आएर बस्छ। 

दशैँको मुखमा घरमा पालेका खसीबाख्रासमेत चितुवा आएर मारिदियो, मकै लगायो बाँदर र बँदेलले सखाप पार्छ, वनमाराको झाडी भयो वनबाट खानेकुरा खोज्दै अलिअलि दुःख गरेर गाउँमै बसेका किसानलाई समेत छाड्नुपर्ने बाध्यता छ। उब्जनी हुने बाली भित्र्याउन नपाएपछि गाउँमा के खाएर बाँच्ने’, उनी भन्छन्।

शहरी क्षेत्रमा बसाइँ सर्ने क्रम बढेसँगै गाउँ रित्तिएको  महावु गाउँपालिका(५ का वडाध्यक्ष दीपबहादुर शाहीले बताए। बसाइँसराइ रोक्न पालिकाले कृषिमा लगानी बढाउँदै गएको दाबी उनले गरे। कृषिमा आधुनिकीकरण आवश्यक भएकाले स्थानीय सरकार किसानसँगको सहलगानीमा काम गर्न तयार भए पनि निकै कममात्र व्यावसायिक खेतीमा लागेका छन्। 

परम्परागत उत्पादनलाई जंगली जनावरले नष्ट गर्न थाले पनि कृषि उत्पादनलाई बढावा दिन गाउँपालिकाले मकै, अलैँची र आलु पकेट क्षेत्र र पशुपालन पकेट क्षेत्र छनोट गरेको र सोहीअनुसार काम शुरु गरेको उनले बताए।

जंगली जनावरको आतंक 

ग्रामीण बस्ती खाली हुनुको एक कारण जंगली जनावरको आतङ्क पनि हो। केही वर्षअघिसम्म आफ्नै खेतबारीमा लगाएको खेतीले वर्षभरि खान पुग्ने ग्रामीण बस्तीका बासिन्दाले पछिल्ला वर्षमा खेती लगाउन छाडेका छन्। लगाएको खेती नपाक्दै बाँदर र बँदेललगायत जंगली जनावरले नाश गर्न थालेपछि पाखाबारी बाँझो छाडेर नागरिक परिवारको गर्जो टार्न कामको खोजीमा शहर पस्न थालेका हुन्। 

‘केही वर्ष अघिसम्म परिवारलाई वर्षभरि खान पुग्ने कोदो, मकै, गहुँलगायत बाली फल्ने गाउँका जमिन अहिले जंगली जनावरका कारण बाँझो पर्न थालेका छन्’, उनी भन्छन्, ‘केही वर्ष अघिसम्म परिवारलाई खान पुग्ने अन्न बारीमा फल्थ्यो। अहिले जंगली जनावरले बाली नपाक्दै नष्ट गरिहाल्छन्। बाँझो बारीले परिवारलाई खान पुग्दैन। गाउँका मानिस काम गर्दै बालबच्चा पढाउँदै शहर पस्न थाले।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad