मुस्ताङको घरपझोङ गाउँपालिका-२ र १ जोड्ने कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण गरिएको छ। दुई वर्षमा बेलिब्रिज निर्माण सम्पन्न भएको हो।
बेलिब्रिज निर्माणका लागि सङ्घीय विशेष अनुदानको एक करोड ९७ लाख र घरपझोङ गाउँपालिकाको ९० लाख साझेदारी गरी जम्मा दुई करोड ८७ लाख २६ हजार रुपैयाँ लागतमा बेलिब्रिज निर्माण गरिएको गाउँपालिकाका सबइन्जिनियर राजन कँडेलले जानकारी दिए।
बेलिब्रिजको लम्बाइ ४२ मिटर र चौडाइ ४.२० मिटर छ । बेलिब्रिज निर्माणका लागि रविचक्र निर्माण सेवाले ठेक्का लिएको थियो।
राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक राजमार्ग नजिकै भएर पनि कालीगण्डकी पारि ओझेलमा परेका घरपझोङ-१ छैरो र चिमाङ गाउँका स्थानीय किसानलाई बेलिब्रिज निर्माणले राहत पुगेको सो वडाका वडाध्यक्ष आशबहादुर थकालीले उल्लेख गरेका छन्। रासस
177
Shares

प्रतिक्रिया