समाज


काठेखोला गाउँपालिकाको घर भाडामै ६० लाख खर्च

काठेखोला गाउँपालिकाको घर भाडामै ६० लाख खर्च

नेपालखबर
बैशाख २९, २०८२ सोमबार १३:२१, बागलुङ

बागलुङको काठेखोला गाउँपालिका स्थापनाको नौ वर्षसम्म भाडाकै घरमा छ। जिल्लाको १० स्थानीय तहमध्ये जग्गाको समेत टुङ्गो नलागेको काठेखोला गाउँपालिकाले हालसम्म भाडाकै घरबाट सेवा दिँदै आएको छ। मासिक ६० हजारका दरले भाडा दिँदै आएको पालिकाले स्थापनाकालदेखि ६० लाख रुपैयाँ भाडामा खर्चेको छ।

लामो समय हुँदासमेत पालिकाको आफ्नै भवन निर्माण नहुँदा स्थानीयले पालिकाप्रति प्रश्न गर्दै आएका छन् । जिल्लाका सात पालिकाको आफ्नै भवन छभने दुई पालिकाको भवन निर्माणको चरणमा छन्। तर काठेखोला गाउँपालिकाले स्थापनाकालदेखि प्रशासकीय भवन निर्माणमा आवश्यक जग्गाको खोजी गरे पनि हालसम्म टुङ्गो लगाउन नसकेको हो।

गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुको दोस्रो कार्यकालमा आउँदासमेत पालिकाको भवन निर्माण नहुनु दुःखद भएको काठेखोला गाउँपालिका–२ अछेतेका स्थानीय गणेशबहादुर भण्डारीले बताए । उनले गाउँपालिकाले नौ वर्षसम्म जग्गा र भवनको टुङ्गो लगाउन नसकेको बताए।

‘जबसम्म गाउँपालिकाले पायक पर्ने स्थानमा भवन बनाउन सक्दैन, हामी नागरिकले प्रश्न गर्न छाड्दैनौँ, जिल्लाका अन्य पालिका आफ्नो भवनबाट सेवा दिइसक्दा समेत काठेखोला गाउँपालिका अझै भाडाकै घरमा छ’, भण्डारीले भने, ‘गाउँपालिकालाई स्थानीयले देखाएको जग्गामा भवन बनाउन कस्ले रोक्यो, अछेते बजार नजिकै भवन बनाउँदा सबैलाई पायक पर्दछ, सामुदायिक वनमा भवन बनाउने कुरा थियो, अहिलेसम्म पालिका निर्णयमा नपुग्दा नागरिकलाई सेवा प्रवाहमा समस्या भएको छ।’

गलकोट र जैमिनी नगरपालिकाको भवन निर्माणाधीन अवस्थामा छ । गत फागुनदेखि ढोरपाटन नगरपालिकाले आफ्नै भवनबाट प्रवाह गर्न थालेको छ । काठेखोलाको प्रशासनिक केन्द्रको विवाद सात वर्षपछि टुङ्गोमा पुगे पनि पुनः मुद्दा परेर विवाद बढेको थियो।

नौ वर्षदेखि प्रशासनिक भवन निर्माणका विषयमा कार्यपालिका बैठकमा धेरै पटक छलफल भए पनि त्यसले सार्थकता पाएको छैन । अघिल्लो पटक कार्यपालिकाको बैठकले वडा नं ६ को सामबोट सामुदायिक वनको जग्गामा भवन निर्माण गर्ने निर्णय गरेको थियो। 

सामबोटमा भवन बनाउन कार्यपालिका बैठकले निर्णय गरी १३औँ गाउँसभाबाट पारित गरेर एक करोड रकम विनियोजन गरे पनि सामुदायिक वनमा भवन बनाउन स्थानीयले अवरोध गरेको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए।

बिहुँकोट सुलडाँडामा भाडाको घरबाट सेवा दिँदै आएको पालिकाले आगमी आर्थिक वर्ष भाडा तिर्न नपर्नेगरी विद्यालयको भवनमा सर्ने योजना बनाएको अध्यक्ष थापाले बताए। भीमसेन माध्यमिक विद्यालयको भवनबाट साउनदेखि गाउँपालिकाले सेवा दिनेगरी अहिले भवन फर्निसिङको काम गरिरहेको बताए।

जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको यो गाउँपालिका अन्य पालिकाभन्दा सुगममा पर्छ । दुर्गमका पालिकाहरुले आफ्नै भवन निर्माण गरेर काम सुरु गरिसक्दा काठेखोलाको जग्गा तथा भवन अझै टुङ्गो लगाउन सकेको छैन।

त्यहाँका केही स्थानीयले सुलडाँडा र केहीले अक्षतेमा केन्द्र राख्ने विषयमा स्थानीयबीच विवाद भइरहेको छ । वडा नं १, २, ३ र ४ ले अक्षते तथा वडा नं ५, ६, ७ र ८ ले हाल कार्यालय सञ्चालन हुँदै आएको सुलडाँडामै प्रशासनिक भवन बनाउने अडान राख्नाले भवन निर्माणमा ढिलाइ भएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad