समाज


आकर्षणको केन्द्र बन्दै छहरे झरना

आकर्षणको केन्द्र बन्दै छहरे झरना

नेपालखबर
बैशाख २०, २०८२ शनिबार ५:५५, बागलुङ

बागलुङको बरेङ गाउँपालिका–३ र ४ को सिमानामा रहेको छहरे झरना पर्यटक आकर्षको केन्द्र बनेको छ। केही वर्षअघिसम्म ओझेलमा रहेको झरना क्षेत्रमा गाउँपालिकाले पूर्वाधार निर्माण र प्रचारप्रसार गरेपछि पर्यटकको आकर्षण बढेको हो।

गाउँपालिकाले विसं २०७५ देखि झाडीले ढाकिएको झरनालाई व्यवस्थित बनाउँदै आएको छ। घना जङ्गलबाट पहरामा ठोकिँदै झर्ने झरना निकै मनमोहक छ। 

पर्यटकलाई आकर्षित गर्नका लागि झरना वरपर मन्दिर, भजनकीतनस्थल, रेलिङसहितको पदमार्ग, विश्रामस्थल निर्माण गरिएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए। झरना नजिकै ‘पिकनिक स्पट’ निर्माण गरेको हुँदा पछिल्लो समय टाढा–टाढाबाट वनभोज खानका लागि यहाँ आउने सङ्ख्या बढेको उनले बताए।

गाउँपालिकाले हालसम्म पूर्वाधार निर्माणमा रु ६० लाखभन्दा बढी लगानी गरिसकेको बताउँदै अध्यक्ष शर्माले यस झरनाभन्दा केहीमाथि रहेको अर्को ठूलो भैँसे झरना प्रवर्द्धनका लागि पनि काम गर्न थालेको बताए। 

‘यो बागलुङको दक्षिण क्षेत्रकै सबैभन्दा ठूलो र आकर्षक झरना हो, यहाँ पर्यटकको चहलपहल बढ्न थालेको छ। हामी निर्वाचित भएर आएदेखि नै पूर्वाधार निर्माणमा जोड दिएका छौँ, सात वर्षदेखि यो झरनामा निरन्तर बजेट विनियोजन गरेर काम गर्दै आएका छौँ’, उनले भने, ‘यस वर्ष झरनाबाट झरेको पानीलाई थुनेर ताल बनाउँदै छौँ, योभन्दा माथि रहेको भँसे झरनालाई पनि व्यवस्थित बनाउँदै छौँ, पदमार्गले जोड्दै छौँ।’

बरेङ गाउँपालिका–४ का यमबहादुर क्षेत्रीले पहिले ओझेलमा रहेको झरना हाल पर्यटकका लागि उत्कृष्ट गन्तव्यका रूपमा विकास हुँदै गएको बताए। झरनाको छेउमा मन्दिर निर्माण गरिदिएपछि पूजा गर्नका लागि आएका दर्शनार्थीहरू झरनामा पुगेर स्नान गर्ने गरेको उनको भनाइ छ। पहिले गुमनाम रहेको झरना यसरी व्यवस्थित होला भनेर कल्पना पनि नगरेको क्षेत्री बताउँछन्।

उनले भने, ‘यो ठाउँमा यति राम्रो झरना छ भन्ने लागेको थिएन, पहिले झाडीले ढोकेकाले पनि धेरैले थाहा पाएका थिएनौँ। स्थानीय तहमा जनप्रतिनिधि आएपछि यो ठाउँमा ल्याएर देखाइयो, त्यसपछि पालिकाले लगानी गर्‍यो र अहिले धेरैका लागि रोजाइको केन्द्र बनेको छ। यहाँ बिदाको दिन सयौँ पर्यटक आउँछन्। महिनामा पाँच हजारभन्दा बढीले झरना अवलोकन गर्छन्।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad