समाज


लामीचौरमा खानेपानी पुग्न ४२ वर्ष

लामीचौरमा खानेपानी पुग्न ४२ वर्ष

नेपालखबर
चैत ११, २०८१ सोमबार ११:१, बागलुङ

बागलुङ नगरपालिका-८ सिगाना लामीचौरमा करिब २०० घरपरिवारको बसोबास छ। बाक्लो बस्ती रहेको लामीचौरमा खानेपानीको एकदमै अभाव थियो। ४२ वर्ष अगाडि निर्माण भएका तीन धाराबाट यहाँका सयौँ स्थानीयले पानी उपभोग गर्दैआएका थिए।

एक गाग्री पानी भर्न रातभर धारामा लाइन बस्नुपर्ने अवस्था थियो। सहजै पानी भर्ने पालो आउँदैनथ्यो। २०३९ सालमा निर्माण गरेको धारा जीर्ण बनेका थिए।

लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका लामीचौरवासीलाई अब भने खानेपानीको समस्या छैन। यसपालि नगरपालिकाले जमिनमुनिबाट पानी निकालेको छ। लामो समयको मेहनतपछि ड्रिलिङ गरी लामीचौरमा पानी निस्किएपछि स्थानीयमा खुसीयाली छाएको छ।

नगरपालिकाले प्राविधिक खटाएर यसबारे सर्वेक्षण गरेको थियो। पानी निकाल्न सकिने सम्भावना देखेपछि ड्रिलिङ मेसिन प्रयोग गरी यहाँ पानी निकाल्ने काम गरिएको हो। यही चैत १ गते मेसिनले करिब १७० मिटर जमिन खोदेर पानी निकालेको हो। 

यही चैत ९ गतेदेखि नियमितरूपमा पानी निकाल्न थालिएको लामीचौर खानेपानी उपभोक्ता समितिका अध्यक्ष टीकाराम थापाले जानकारी दिए।

गाउँमा खानेपानीको निकै समस्या थियो, बल्ल माग पूरा भएको छ’, अध्यक्ष थापाले भने। नगरपालिकाको २६ लाख र स्थानीय जनसहभागिताबाट जुटेको तीन लाखको लागतमा पानी निकालिएको हो। ‘सिङ्गो गाउँमा पानीको समस्या थियो, २०० घरका लागि तीनवटा मात्र धारा थिए, धारामा थोरै पानी आउँथ्यो, स्थानीयले कुवा र खोलाको फोहर पानी उपभोग गर्दैआएका थिए’, उनले विगतको समस्या बताए।

स्थानीय ७१ वर्षीय चन्द्रमणि गौतमले २०३९ सालदेखि नै लामीचौरमा खानेपानी समस्या रहेको बताए। जनसङ्ख्या बढ्दै गएपछि खानेपानीको अभाव भएको उनको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad