समाज


स्ववियु निर्वाचन : मतदातालाई प्रवेश निषेध गरेपछि पोखराको इन्जिनियरिङ क्याम्पसमा तनाव

स्ववियु निर्वाचन : मतदातालाई प्रवेश निषेध गरेपछि पोखराको इन्जिनियरिङ क्याम्पसमा तनाव

नेपालखबर
चैत ५, २०८१ मंगलबार १३:३६, पोखरा

स्वतन्त्र विद्यार्थी युनियनको चुनावको क्रममा तनावग्रस्त पोखराको लामाचौरमा रहेको इन्जिनियरिङ क्याम्पस तनावग्रस्त बनेको छ। क्याम्पसको छात्राबासमा रहेका करिब ४ सय जना विद्यार्थी मतदानमा सामेल भइरहँदा गेटमा अनसनरत नेपाल विद्यार्थी संघनिकट विद्यार्थीहरूले बाँकी मतदातालाई भित्र प्रवेश गर्न रोकेपछि स्थिति तनावपूर्ण बनेको हो।

इन्जिनियरिङ क्याम्पसमा नेवि संघको एउटा समूहले सचिव पदमा उम्मेदवारी दिन खोजेको थियो। तर, आफू निकट विद्यार्थीलाई टिकट नदिइएको भन्दै सो समूहले सचिव पदको मनोननय पत्र नै च्यातेपछि सो पदमा नेवि संघको उम्मेदवारी नै परेन।

निर्वाचन चाहने समूहले सचिव बिनै मतदान प्रक्रियामा सामेल हुने निर्णय गरेपछि अर्को समूह अनसनमा उत्रेको हो। कृष्णजंग कार्की र राजीव अधिकारी अनसनमा छन्। उनीहरूले षड्यन्त्रपूर्ण रुपले सचिवको उम्मेदवारीबिनै निर्वाचनमा जाने निर्णय गरिएको भन्दै आपत्ति जनाएको हो। त्यहाँ नेवि संघ सौगात पण्डितको नेतृत्वमा चुनावी अभियानमा होमिएको छ। 

सचिवमा प्रशान्त उपाध्यायलाई उम्मेदवार बनाउन नेवि संघका केन्द्रीय अध्यक्ष डुजाङ शेर्पाले परिपत्र गरेका थिए। तर, डुजाङको परिपत्रलाई अस्वीकार गर्दै कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालसहितको टोलीले षड्यन्त्र गरेको उनीहरूको आरोप छ। त्यहाँ रेजिना शर्मालाई सचिवको उम्मेदवार बनाउन खोजिएको थियो। त्यस्तो गरिने भएपछि सो समूहले मनोनयन पत्र च्यातेको थियो।  

अनसनमा उत्रिएका विद्यार्थीहरूले मतदानमा सरिक हुन खोज्नेलाई रोक्न खोजेपछि त्यसको प्रतिकारमा क्याम्पस परिसर भित्र रहेका विद्यार्थीको तर्फबाट ढुंगा प्रहार भएको छ। त्यहाँ बाक्लो मात्रामा सशस्त्र र जनपद प्रहरी परिचालन गरिएको छ। 

अहिले क्याम्पस प्रशासनले भित्रबाट माइकिङ गर्दै विद्यार्थी परिचय पत्र भएका विद्यार्थीहरूलाई मतदान स्थलमा प्रवेश गर्न दिन अनुरोध गरेको छ। तर, स्थिति तनावपूर्ण नै छ। क्याम्पसमा २ हजार ४१ जना विद्यार्थी अध्ययनरत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad