समाज


लाटोकोसेरो संरक्षण अभियानमा  ‘प्रकृतिका साथीहरू’

लाटोकोसेरो संरक्षण अभियानमा  ‘प्रकृतिका साथीहरू’

नेपालखबर
मंसिर ३०, २०८१ आइतबार १०:१६, म्याग्दी

‘प्रकृतिका साथीहरू’ नामक संस्थाले म्याग्दीमा लाटोकोसेरो संरक्षण अभियान सुरु गरेको छ।

वयट्ली फन्ड फर नेचर (डब्लुएफएन) अवार्डको सहयोगमा यहाँका विद्यालय र समुदाय स्तरमा उक्त अभियान सुरु गरिएको ‘प्रकृतिका साथीहरू’ संस्थाका लाटोकोसेरो संरक्षण दूत आयुष ढुंगानाले जानकारी दिए।

अभियन्ता ढुंगानाका अनुसार अङ्ग्रेजीमा ‘आउल’ भनिने यो पक्षी किसानको साथी हुँदाहुँदै पनि हेपिएको पक्षी मानिन्छ। आकारमा सानो र ठूलो हुने यस पक्षीको सानो प्रजातिलाई लाटोकोसेरो र ठूलोलाई हुचिल भनिन्छ । दिउँसो यिनको हेर्ने क्षमता कमजोर हुन्छ । ठूलाठूला आँखा हुने यो प्रजातिको तीनवटा परेला हुन्छन्। यो चराको बासस्थान तराईदेखि हिमालसम्म पाइन्छ।

अभियानअन्तर्गत विभिन्न विद्यालय र समुदाय स्तरमा जनचेतना शिविर आयोजना गर्न लागिएको उनले बताए। अर्का अभियन्ता तथा लाटोकोसेरो संरक्षण दूत सुदर्शन पराजुलीले लाटोकोसेरोको संरक्षण गर्न जंगलका पुराना र बूढा रुख जोगाउनुपर्ने, गुलेली प्रतिबन्धित क्षेत्र घोषणा गर्नुपर्ने बताए। पराजुलीले संसारभर दुई सय ५० प्रजातिका लाटोकोसेराको अभिलेख गरिएको र नेपालमा २३ प्रजाति भेटिएको बताए।

एउटा लाटोकोसेरोले फूल पारेर बच्चा हुर्काउने बेलासम्म तीन हजार मुसा खाने भएकाले यिनलाई किसानको साथी भनिने उनले जानकारी दिए। प्रकृतिलाई सन्तुलित राख्न लाटोकोसेरोको उत्तिकै महत्त्वपूर्ण भूमिका रहन्छ।

पछिल्लो समय चोरी सिकारीका कारण यसको सङ्ख्या दिनप्रतिदिन घट्दै गएको छ। लाटोकोसेरो संरक्षणका लागि वार्षिक लाटोकोसेरो तथा हुचिल उत्सवसमेत हुँदै आएको छ। लाटोकोसेरोलाई धनकी देवी लक्ष्मीको बाहनका रूपमा पनि लिइन्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad