समाज


पाइलट बन्न दक्षिण अफ्रिका गएको छोराको शव टीकाको अघिल्लो दिन घरमा आइपुग्दा...

पाइलट बन्न दक्षिण अफ्रिका गएको छोराको शव टीकाको अघिल्लो दिन घरमा आइपुग्दा...

नेपालखबर
असोज २६, २०८१ शनिबार ८:४०, तनहुँ

तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी २९ वर्षीय विराट पन्थ पाइलट पढ्न दक्षिण अफ्रिका गएका थिए। एक वर्षअघि त्यहाँ गएका पन्थले १० महिने कोर्ष पूरा गरिसकेका थिए। आठ महिनापछि उनको पाइलट कोर्स पूरा हुन्थ्यो।

छोरोको पाइलट बन्ने सपना पूरा हुने क्रममै रहेकाले यसपटकको दसैँ पनि विगतकोभन्दा थप उल्लासमय हुने अपेक्षामा थियो पन्थ परिवारको। तर त्यो अपेक्षा सपनामै सीमित हुन पुगेको छ। विराट विजयादशमीको पहिलो दिन अर्थात् घटनास्थापनाको दिनमा भएको दुर्घटनामा परी सधैँका लागि अस्ताए। 

यता नेपालमा रहेको पन्थ परिवार दसैँका लागि जमराको चाँजोपाँजो गर्दै थिए। त्यहीबेला खबर आयो, छोरा विराट असोज १७ गते घटनास्थापनाका दिन आफैँले चलाएको कार दुर्घटनामा परी सधैँका लागि अस्ताए। साथीको जन्मदिन मनाउन जाँदै गर्दा दुर्घटनामा परी उनको मृत्यु भएको हो। 
    
कानुनी प्रक्रिया पूरागरी पन्थको शव बडादसैँको नवौँ दिन शुक्रबार राति दमौली ल्याइएको छ। राति नै दमौलीस्थित मादीसेती घाटमा दाहसंस्कार गरिएको छ। दसैँका बेला खुसीयाली हुनुपर्ने परिवार यतिबेला शोकमा छ। 

बुबा अधिवक्ता गोविन्द पन्थ र आमा टीकादेवी पन्थलगायत परिवार शोकको पीडा व्यक्त गर्ने अवस्थामा पनि छैनन्। आफन्त ईश्वरराज पन्थले भने, ‘ठूलो सपना बोकेर घर छोडेको छोराको शव आँगनमा आउँदा कस्तो भयो होला! अकल्पनीय घटनाले सबैलाई विक्षिप्त बनाएको छ।’ 

छिमेकी नन्दन श्रेष्ठले विराटको अकल्पनीय अवसानले आफूहरू स्तब्ध भएको बताए। ‘आशाका मुनामा तुषारापात भएको छ। परिवारको सपना सपनामै रहेको छ। आत्मा अमर छ, शरीरमा आत्माको यात्रा अनन्त छ । बाबु विराटको आत्माले शान्ति पाओस्’ , उनले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad