समाज


बली दिने राँगोका लागि पौने पाँच लाखको बोलकबोल

बली दिने राँगोका लागि पौने पाँच लाखको बोलकबोल

फाइल तस्बिर


नेपालखबर
असोज २५, २०८१ शुक्रबार ७:२४, म्याग्दी

म्याग्दीमा बडा दसैँको नवमीमा बली चढाइने सरकारी राँगोलाई मार हान्न पौने पाँच लाखको बोलकबोल भएको छ। रघुगङ्गा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा नवमीमा बली चढाइने सरकारी राँगो मार हान्नका लागि रु चार लाख ७१ हजारको बोलकबोल भएको हो।

बिहीबार राति भएको कालरात्रिमा खुला बोलकबोलमार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो। करिब ४५ मिनेट चलेको बोलकबोलमा सहभागी तीनजनाको प्रतिस्पर्धामा रघुगङ्गा गाउँपालिका–३ अक्षताका सोवित भण्डारीले सबैभन्दा धेरै कबोल गरेको भगवती कोत मन्दिर पुजा व्यवस्थापन समितिले जनाएको छ।

बोलकबोलमा भगवतीका रमेश कटुवाल र अक्षताका भण्डारीबीच प्रतिस्पर्धा हुँदा समितिले तीन मिनेटको समय दिएको थियो। अन्तिममा लिखित रुपमा भएको बोलकबोल भण्डारीको पक्षमा गएको थियो।

सबैभन्दा बढी रकम कबोल गर्ने व्यक्तिलाई नै मार हान्न दिने परम्पराअनुसार नवमीको मार हान्ने व्यक्तिको टुङ्गो लगाइएको भगवतीका वडा अध्यक्ष अमृत भण्डारीले जानकारी दिए।

गत वर्षको नवमीमा एकेन्द्र भण्डारीले सबैलेभन्दा धेरै रु तीन लाख ३० हजार रकम तिरेर सरकारी मार हानेका थिए। यस क्षेत्रकै शक्तिपीठ मानिने भगवती कोतमा यसअघि २०७९ सालको नवमीमा रु तीन लाख १५ हजार, २०७८ सालको दसैँको नवमीमा भगवतीमा रु तीन लाख, २०७६ सालको दसैँमा दुई लाख ८० हजारमा मार हानेका थिए।

नवमीको दिन बली दिइने राँगो मार हान्ने व्यक्तिहरुको मनोकांक्षा पूरा हुने जनविश्वासका कारण आकांक्षीहरु धेरै हुने भएकाले खुला बढीबढाउमार्फत छनौट गरिँदै आइएको भगवती कोतमन्दिर पूजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले जानकारी दिए।

भगवती कोत मन्दिरमा कालरात्रिमा कोटमन्दीरमा सर्वसाधारणको बीचमा खुल्ला बोलकबोल गर्ने परम्परागत छ। कोत मन्दिरमा सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास छ।

तत्कालीन बाइसेरचौबीसे राज्यकालदेखि यहाँको कोतमन्दिरमा बढीबढाउ गरी राँगो हान्ने चलन छ। नवमीका दिन कोत मन्दिरमा सरकारी मार हानेपछि पूजा व्यवस्थापन समिति, आफन्तजन र गाउँलेहरुले सरकारी मार हान्ने व्यक्तिको टाउकोमा फेटा गुथाएर बाजागाजासहित सम्मान गर्ने चलन छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad