ad ad

समाज


बाँदर नियन्त्रण गर्न वनमा रोपियो फलफूलका बिरुवा

बाँदर नियन्त्रण गर्न वनमा रोपियो फलफूलका बिरुवा

फाइल तस्बिर


नेपालखबर
साउन ६, २०८१ आइतबार १३:३३, गाेरखा

गोरखाको पालुङटार नगरपालिकाले बाँदर नियन्त्रणका लागि नगर क्षेत्रभित्रका सामुदायिक वन तथा खाली जमिनमा फलफूलका बिरुवा रोप्न सुरु गरेको छ।

नगरपालिकाले चालु आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रममार्फत नगरपालिकाभित्र बाँदर नियन्त्रणका लागि घोषणा गरेको ‘वनको बाँदर वनमै’ कार्यक्रमअन्तर्गत शनिबार एकै दिन खाली जमिन, खोल्सा तथा सामुदायिक वनमा छ हजारभन्दा बढी फलफूलका बिरुवा रोपिएको नगरप्रमुख विवश चिन्तनले जानकारी दिए। 

‘पन्ध्रौँ नगरसभाबाट पारित नीति तथा कार्यक्रमअनुसार नगरपालिका क्षेत्रका जङ्गलमै बाँदरका लागि खाने कुरा उब्जाउन फलफूलका बिरुवा लगाउने योजना बनाएका थियौँ’, उनले भने, ‘सोही कार्यक्रमअन्तर्गत सामुदायिक जङ्गल तथा खाली जग्गामा फलफूलका बिरुवा सार्न थालिएको हो।’

जङ्गलमा बाँदरका लागि आहारको व्यवस्था गर्न सकिए बाँदरलाई जङ्गलमै रोक्न सकिने उनको भनाइ छ।  नगरपालिकाले वन उपभोक्ता समिति, टोलसुधार समितिलगायतसँग समन्वय र सहकार्य गरेर बाँदर नियन्त्रणका लागि जङ्गलमा फलफूलका बिरुवा लगाउन थालेको हो। 

पहिलो चरणमा गाउँघरमा वरपर उपलब्ध हुने फलफूलजन्य बिरुवा आँप, केरा, कटहर, वरपीपल, स्वामी, किम्बु, अम्बा, लिची, कटहर, लप्सीलगायत बिरुवा रोपिएको नगरप्रमुख चिन्तनले बताए। 

सामुदायिक वन, खोल्सी तथा बाँझो जमिनमा लगाइएको फलफूलको उत्पादन हुन थालेसँगै बाँदर जङ्गलमा भुल्ने र बाँदरबाट खेतीबाली जोगाउन सकिने विश्वास नगरपालिकाको छ। नगरपालिकाभित्रका कर्मचारी, सामुदायिक वन उपभोक्ता समितिका सदस्य, टोलसुधार समितिका सदस्य, नगरवासी, राजनीतिक दलका प्रतिनिधिलगायतका पनि सहभागितामा वृक्षरोपण गरिएको हो।

‘फलफूलका बिरुवा रोपण गरिएका स्थानको संरक्षण र दिगोपनाका लागि निरन्तर कार्यक्रम सञ्चालन गर्दै जाने र बाँकी रहेका स्थानमा वृक्षरोपण गर्दै जाने नगरपालिकाको योजना छ’, नगरप्रमुख चिन्तनले भने, ‘सबै पक्ष मिलेर काम गर्न सकियो भने दीर्घकालीन रुपमा बाँदरबाट बालीनाली जोगाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .