तनहुँमा बिहीबार साँझ आएको हावाहुरी र असिना पानीले विभिन्न स्थानमा लाखौँको क्षति पुगेको छ। हावाहुरीले जिल्लाका करिब तीन सय ३३ घर, गोठ, विद्यालयलगायतका संरचनामा क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए।
उनका अनुसार हालसम्म यकिन तथ्याङ्क प्राप्त भई नसकेको तर हावाहुरीले भौतिक क्षति धेरै पुर्याएको छ । उनले भने, ‘हालसम्म करिब तीन सय बढी घर, दुई विद्यालय, एक मन्दिरको छाना उडाएको र भत्किएको छ।’ क्षति पुगेका स्थानमा प्रहरी विवरण र तथ्याङ्क सङ्कलनका लागि केही स्थानमा पुगिसकेको प्रजिअ गौतमले बताए।
हावाहुरीले जिल्लाका सबै पालिकामा क्षति पुर्याएको र सबैभन्दा बढी व्यास नगरपालिकामा क्षति भएको जानकारी प्राप्त भएको उनले बताए।
फल लागेका आँप, सुन्तला, लिची अन्य तरकारी बालीमा हावाहुरी र असिनापानीले क्षति पुर्याएको छ । हावाहुरीले मानवीय क्षति नभएको प्रजिअ गौतमले बताए । यस्तै, जिल्लाको विभिन्न स्थानमा हावाहुरीले विद्युत् पोल ढल्दा अवरोध बनेको छ । विद्युत् पोल तथा तारमा भएको क्षतिले विद्युत् प्रवाहमा अवरोध भएको तनहुँ वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिए। विद्युत् सेवा सुचारु गर्न रेग्मीसहितको टोली अवरोध भएको स्थानमा खटिएका छन् ।
व्यास नगरपालिका–१० को बैरेनी, वडा नम्बर ७ कलेस्ती, वडा नम्बर ११ को पोल्याङ, वडा नम्बर–१२ को छिर्कन, १३ को पोखरीभञ्ज्याङ, १४ नम्बरलगायतका दर्जनौँ स्थानमा विद्युत् पोल ढलेर विद्युत् सेवा अवरुद्ध भएको तनहुँ वितरण केन्द्रले जनाएको छ । हावाहुरीले रुख ढलेर लाग्दा बन्दीपुर गाउँपालिका–१ भैँसीगोठस्थित खड्गदेवी मन्दिर भत्किएको स्थानीयले जनाएका छन्। रासस
Shares
प्रतिक्रिया