ad ad

समाज


बेहुला-बेहुली सवार गाडी घर पुग्यो, तर जन्ती चढेको जिप भीरबाट खस्यो

बेहुला-बेहुली सवार गाडी घर पुग्यो, तर जन्ती चढेको जिप भीरबाट खस्यो

नेपालखबर
फागुन ८, २०८० मंगलबार १३:२५, तनहुँ

तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरानचौरस्थित भित्री सडकमा सोमबार जन्ती सवार जीप दुर्घटनामा घाइते भएका अर्का एक जनाकाे पनि मृत्यु भएकाे छ। याेसँगै दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या तीन पुगेको छ। 

जन्ती बोकेर छापस्वाँरा जाँदै गरेको जीप आइतबार राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए। 

घाइतेमध्ये आँबुखैरेनी गाउँपालिका-६ का ५६ वर्षीय शेरबहादुर गुरुङको सोमबार राति उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए। 

दुर्घटनामा परी सोही ठाउँ बस्ने ७२ वर्षीय आसपुर गुरुङ र व्यास नगरपालिका-९ गजौडे बस्ने १७ वर्षीया तुलसी गुरुङको त्यतिबेलै मृत्यु भएको थियो। दुर्घटनामा घाइते भएका अन्यको चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

रमाइलो माहोल एकाएक शोकमा बदलियो
छापस्वाँरामा आइतबारदेखि विवाहको रमाइलो माहोल थियो । केटापक्ष केटी लिन भानुको मिर्लुङ पुगेका थिए। आइतबार राति नै दुलही लिएर जन्ती फर्किँदै थियो। दुलाहादुलही चढेको गाडी घर पुगिसकेको थियो। तर अन्तिममा आउँदै गरेको बोलेरो जीप अचानक दुर्घटनामा पर्‍यो। 

आँबुखैरेनी गाउँपालिका-१ गिरानचौरस्थित भित्री सडकखण्डमा छापस्वाँरा जाँदै गरेको जन्ती बोकेको जीप दुर्घटना भयो। दुर्घटनापश्चात् विवाहको रमाइलो माहोल शोकमा बदलिएको छ। 

आँबुखैरेनी-६ का वडाध्यक्ष दिलिप गुरुङले दुर्घटनापश्चात् गाउँ नै शोकमा डुबेको बताए । ‘खुसीको क्षणलाई दुर्घटनाको दुःखद क्षणले नरमाइलो बनाएको छ । गाउँ शोकमा डुबेको छ,’ उनले भने।

गुरुङका अनुसार विवाहका लागि तीन वटा गाडी लगिएको थियो । त्यसमध्ये अन्तिमको गाडी दुर्घटनामा परेको हो।

‘दुई वटा गाडी घर पुगिसकेको थियो। आफन्तहरु चढेको बोलेरो जीप दुर्घटना भयो। घाइतेहरु पनि आफन्त नै हुन्,’ उनले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .