म्यानमारबाट नेपालीहरु लिएर आएको जहाज काठमाडौंमा अवतरण गरेको छ। विहान ९ः५० मा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने भनेको जहाज १०ः४३ मा अवतरण गरेको हो।
उक्त जहाजले म्यानमारमा रोकिएका २६ जना नागरिक ल्याएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। साेहि जहाजले नेपालबाट फर्कदा ४३ जना म्यानमारका नागरिक लिएर फर्कने त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णले नेपालखबरलाई बताए।
त्यस्तै आजै (शुक्रबार) यूएईबाट पनि नेपाली फर्कदै छन्। यूएई सरकारले नै आफ्नो जहाजमा रोजगारमा गएकालाई फर्काउन लगेको हो। प्राधिकरणका अनुसार १६८ नेपाली यूएईबाट आउँदै छन्।
योसँगै सरकारले विदेशमा अल्पत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने क्रम सुरु भएको छ।
संसारभर कोरोना संक्रमणको संकट गहिरिँदै गएपछि सरकारले स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई क्रमशः ल्याउने निर्णय गरेअनुसार पहिलोपटक म्यान्मारबाट नेपाली ल्याइएको हो।
यसअघि चीनको वुहानबाट विमान चार्टर गरी नेपाली विद्यार्थी सहित १७५ जना नेपाली नागरिकलाई गत फागुनमा ल्याइएको थियो।
प्रतिक्रिया