ad ad

समाज


सिंगापुरमा रोजगारीको प्रलोभन दिएर सुजनले ३९ जनाबाट ठगे ४ करोड

हिरा लुटपाटदेखि मोडललाई ब्ल्याकमेलसम्मका मुद्दामा मुछिएका सुजन
सिंगापुरमा रोजगारीको प्रलोभन दिएर सुजनले ३९ जनाबाट ठगे ४ करोड

समृद्धा केसी
जेठ २२, २०८० सोमबार २०:४५, काठमाडौँ

भविष्यको सुन्दर सपना बोकेर एक वर्षअघि अछामका २७ वर्षीय अनिल अधिकारी काठमाडौंका मेनपावरहरु धाउन थाल्छन्। आठ कक्षा मात्र पास उनी त्यसअघि भारतमा काम गरेर घर चलाइरहेका थिए। 

मेनवपावर धाउने क्रममा उनको भेट आफूलाई निकै ठूलो व्यापारी भन्ने उदयपुर जिल्ला त्रियुगा नगरपालिका वडा नम्बर १० स्थायी घर भई हाल सिंगापुर बस्दै आएका सुजन आचार्यसँग हुन्छ। 

विदेश गएर पैसा कमाउने र सुन्दर संसार बसाउने सपना देखेका अनिलले सुजनलाई भेटेपछि देउतै भेटेजस्तो महसुस गर्छन्। किनकि सुजनले  सिंगापुरमा आफूले होटल खोल्न लागेको र त्यहाँ ५०/६० जना कर्मचारी चाहिएको बताउँछन्।

महिनाको चार लाख रुपैँया तलबसहित सेवा सुविधा दिने आवश्वासन सुजनले देखाउँछन्। तर सिंगापुर जानका लागि १२ लाख रुपैँया चाहिने सर्त उनले राखे।

अनिलका लागि १२ लाख रुपैयाँ धेरै ठूलो रकम थियो। तर महिनाको चार लाख कमाइ हुने भनेपछि उनी अघि सर्छन्। घर धरौटी राखेर उनले पैसा जम्मा गर्छन्।

सुजनकी प्रेमिका भनिने बिनु शाक्यको नाममा अनिलले १२ लाख खातामा हाल्छन्। त्यसपछि सुजनले सिधै कामदारका रुपमा सिंगापुर लैजान नमिल्ने तर भिजिट भिसामा जानेआउने गरेपछि भने कमदारकै रुपमा लैजान मिल्ने बताउँछन्। सुजनले ‘ट्राभल हिस्ट्री’ बनाउनु पर्ने भन्दै दुई पटक अनिललाई सिंगापुर पठाउँछन्। 

अनिल सिंगापुर जाँदा सुजनले आफू ‘एस ग्रुप ग्लोबल’ कम्पनीको मालिक भएको र सिंगापुरको पाँच तारे होटलमा पनि आफ्नो सेयर रहेको भन्दै होटलहरु देखाउँछन्। 

सुजनले आफूलाई अर्बौँको मालिक भएको र कालो धनलाई सेतो बनाउन होटल सञ्चालन गरेर नेपाली कामदारलाई सिंगापुर ल्याउन लागेको अनिललाई बताएका थिए। 

एक पटक सिंगापुर गएर फर्किएपछि अनिललाई होटलको इभेन्ट म्यानेजर तोकिएको भन्दै मेल आउँछ। ८ कक्षा पास अनिल त्यति ठूलो पद र महिनाको चार लाख कमाइ हुने भनेपछि दंग पर्छन्।

सुजनले ‘अब मसँग जोडिनु भयो तपाईंका दुखका दिन गए’ भन्दै आफूलाई आश्वासन देखाएर जालका पारेको उनले सुनाए। 

‘अर्बौँको मालिक भन्ने सुजनले १०/१२ लाख ठग्ला भन्ने सोचेको थिइनँ,’ अनिलले भने। 

सुजनले सिंगापुरमा अरु होटल पनि खोल्न लागेको र कामदारको आवश्यक परेकाले अनिलका आफन्तलाई पनि बोलाउन आग्रह गर्छन्। 

अनिलले पनि १२ लाख लगानीमै महिनाको लाखौँ पैसा कमाउने भएपछि काका, भान्जा र अरुलाई पनि सुजनकै सम्पर्कमा ल्याउँछन्। 

सुजनले आफ्नो खातामा पैसा हाल्न नमिल्ने भन्दै अनिलकै खातामा सबै पैसा जम्मा गरेर एकमुष्ट बिनु शाक्यको खातामा हाल्न लगाउँछन्। 

दुई पटक सिंगापुर गएपछि कामदारकै रुपमा जान मिल्ने भनेर ढुक्कसँग बसेका सुजनका लागि त्यो दिन कहिले आएन।

एक महिनाअघि मात्र अनिल र उनका आफन्तले आफूहरु ठगिएको मेलो पाएका छन्। अहिले अनिलको टाउकोमा आफ्नो ऋण सहित आफ्न्तको सहित गरेर ४६ लाख ऋण छ। 

अनिल भन्छन्, ‘सुजन चोरलाई शंका गर्ने कुनै ठाउँ नै थिएन।  सिंगापुर जाँदा यो होटलमा लगानी छ। यो नयाँ बन्दै गरको होटल भन्दै देखाउँथ्यो। क्लब जाँदा ७/८ लाख सक्थ्यो। त्यति सम्पन्न मान्छेले हाम्रो पैसा खाइदेला भनेर सोच्नै आएन।’

अहिले सुजनलाई सम्पर्क गर्न खोज्दा सम्पर्कमा नआउने र पुलिस केस गरेका छौंँ भन्दा पनि सुजनले नेपाल पुलिसले आफ्नो केही बिग्रान नसक्ने भन्दै उल्टो थर्काउने गरेको उनले बताए।

बन्दी बन्दा जिउँदै नेपाल फर्किने आश मारेका पारस 
अनिलका काका पारस अधिकारीले अनिलकै माध्यमबाट सिंगापुर जाने ‘मौका’बारे खबर पाएका थिए।

सिंगापुर जान १२ लाख लाग्ने र एक हप्ताभित्रै जान पाउने, तलब पनि राम्रै हुने थाहा पाएपछि सुरुमा पारसले विश्वास गरेनन्। तर अनिलले नै शतप्रतिशत हुन्छ भनेपछि उनले नकार्न सकेनन्। 

एक हप्ताभित्रमा आधा पैसा बुझाइसक्नु पर्ने र बाँकी पैसा सिंगापुर गएपछि दिने सर्त थियो। 

तर सिंगापुर उड्ने भनेको एक दिनअघि मात्र १२ लाख सबै पैसा जम्मा गर्नु पर्ने भयो भन्ने खबर आएपछि पारसले घरजग्गा सबै बैंकमा धितो राखेर पैसा बुझाए।

दुई पटक जाने भनेर तयारी हुँदा उडान रद्द भएको पारसले सुनाए। 

‘अब जाने भइयो भनेर परिवारिक जमघट गरेपछि दुई पटक के–के मिलेन भन्दै फलाइट क्यान्सिल भयो,’ पारसले भने, ‘तर आजभन्दा आठ महिना पहिला म उडँे। सिंगापुर पुगेँ तर त्यहाँ सोचे जस्तो भएन।’

होटलमा पुग्दा आफूजस्तै अरु नेपाली साथी पनि भेटेको पारसले बताए। 

सुजनले पारसलाई नेपाल फर्किनु नपर्ने, एक महिनामै इपास दिने सर्तमा बोलाएका थिए। सिंगापुरमा एक महिना बस्दा दुई छाक खाना पनि नपाएको दुख पारसले सुनाए। 

‘बिहान खाना खायौं भने बेलुका चाउचाउ खान्थ्यौं,’ पारसले भने, ‘तर घरमा मैले आफ्ना दुःख केही सुनाइनँ। सबै राम्रो छ भन्थेँ। म बिरामी पनि परेँ। तर त्यहीँ बसेको सुजनले वास्ता गरेन।’

एक महिनामा पारसको भिसा सकियो र इपास पनि नआएकाले सुजनले उनलाई टुरिस्ट भासामा फिलिपिन्स गएर एकदुई दिन बसेर पुनः सिंगापुर आउन आग्रह गरे।

पारससँग १२ डलरबाहेक पैसा थिएन त्यसैले सुजनले पैसा नभएको मास्टरकार्ड हातमा थमाइदिए। जब पारस फिलिपिन्स पुग्छन्, उनको चेकजाँच गरिन्छ। पैसा नभएको तर टुरिस्ट भिसा गएकाले केरकार गरिन्छ। 

इमिग्रेसनले टुरिस्ट भन्ने तर साथमा पैसा छैन के गर्न आएको भन्दै उनलाई नियन्त्रणमा लिन्छ।

पारसले सुजनलाई पनि सम्पर्क गर्न खोज्छन् तर सम्पर्क हुँदैन। उनलाई एक दिनभर पानी पनि खान दिइँदैन। 

‘एउटा बन्दी कोठामा राखिएको थियो। कागजात, फोन दिनभरमा १५ मिनेट मात्र चलाउन लिइन्थ्यो,’ पारसले भने, ‘केही दिन त्यसरी नै राखियो। मेरो जीवन यहीँ जाने भयो भन्ने सोचेँ। घरमा अरुलाई केही भनिनँ। श्रीमतीलाई भने म नेपाल पुगिनँ भने घरमा सबै भनिदिनु भन्दै सन्देश पठाएँ। मलाई बन्दी बनाएर राखे।’

केही दिनपछि उनलाई सिंगापुर हुँदै त्यहाबाट नेपाल पठाइएको उनले सुनाए। तर नेपाल आउँदासम्म एउटा बन्दी जस्तो व्यवहार गरेर सुरक्षाकर्मी खटाइएको उनले सुनाए। 

पारसले सिंगापुर जाने भनेर घर, जग्गा धितो राखेका छन्। त्यसको किस्ता बुबाले महिनाभर कमाएको तलबमा थप तीन हजार थपेर तिर्ने गरेको उनले सुनाए। 

कोबाट कति ठगियो?
अनिल र पारसलाई जस्तै सुजनले ३९ जना नेपालीलाई सिंगापुरमा आफ्नै होटलमा काम लगाइदिन्छु भन्दै करिब ४ करोड ३० लाख रुपैयाँ ठगेको देखिन्छ।

सोमबार पीडितहरुले गैरीधारमा पत्रकार सम्मेलन गर्दै आफ्नो पीडा सुनाए। उनीहरुले सुजनलाई पैसा बुझाएको प्रमाण सार्वजनिक गरेका छन्। 

सम्मेलनमा बोल्दै कैलालीका पारस अधिकारीले १२ लाख ५० हजार, अछाममा अनिल अधिकारीसहित पाँच जनाको लागि ४४ लाख बुझाएको बताए।  अछामका मीन अधिकारीले १२ लाख बुझाएका छन्। 

अछामकै प्रेम साउदले १२ लाख बुझाएका छन् भने, अछामका राजेन्द्र साउदबाट सुजनले १२ लाख ठगी गरेका छन्। अछामकी बिन्दु खत्री ७ लाख रुपैयाँ ठगिएकी छिन्। 

कञ्चनपुरका सुरेन्द्र शाहको १२ लाख, बाजुराका झरेन्द्र सिंहको १२ लाख ५० हजार, जगदीश बस्नेतको ७ लाख रुपैयाँ सुजनले लिएका छन्। 

बैतडीका भूपेन्द्र सिंहले १३ लाख ५० रुपैयाँ सूजनकी प्रेमिका बिनुलाई बुझाएको प्रमाण सार्वजनिक गरेका छन् भने कञ्चनपुरका कृष्ण शाहीले साढे १२ लाख ठगिएको बताएका छन्।

वर्षदिन लाग्यो ठगिएको थाहा पाउन
सुजनले विभिन्न झुटा कुरा गर्दै उनीहरुलाई अलमल्याइराखेका थिए। सिंगापुर नजालेहरुको पैसा फिर्ता दिन्छु भन्दै सुजनले एकदुई जनाको पैसा सात/आठ महिना पहिला फिर्ता गरेको बाँकेका अनिल भण्डारीले बताए। 

‘एक महिनापहिला सुजनले काम हुन्छ, ढिलो भए पनि हुन्छ। मैले मिलाउँदै छु भन्थ्यो तर त्यसयता फोन, म्यासेज नहेर्ने र अहिले त सम्पर्कमै नआएकाले ठगेको महसुस भयो,’ भण्डारीले भने। 

घरबारविहीन  हुनेगरी ठगिएपछि पीडित पक्षले वैदेशिक रोजगार विभाग र जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन्। 

पीडित भण्डारीले भने, ‘हामीमध्ये धेरैले बिनु शाक्यको नेपालस्थित इन्भेस्टमेन्ट बैंकको खातामा हालिदिएका थियौं। ठगीमा संलग्न उनी पनि लुकेर सिंगापुरमै बसेकी छन्। ठगीमा सुजनका भाइ (सानीमाका छोरा) सृजन पनि संलग्न भएकाले उनलाई प्रहरीले पक्राउ गरिसकेको छ।’

‘बिनु र सुजनको नाममा पनि पक्राउ पुर्जी जारी भएको छ। तर आचार्यले नेपालमा नेता, मन्त्रीदेखि पुलिसका हाकिमहरूलाई समेत आफूले पैसा दिने गरेको दाबी गर्दै आएकाले सजिलै, बेलैमा न्याय पाउनेमा हामीलाई आशंका छ,’ उनले भने। 

सुजन जस्ता ठगलाई सरकारले समयमै कानुनी दायरामा नल्याए ४० जनाका ठाउँमा चार हजार जना पीडित हुन सक्ने उनको भनाइ छ। ३९ जनाबाहेक अरु पनि सम्पर्कमा नभएका २५/३० जना पीडित रहेको भण्डारीले बताए। 

उनी भन्छन्, ‘उहाँहरू जाहेरी दिएर बस्नुभएको छ। सबैसँग गरी सुजन आचार्यले कुल १० करोड रुपैयाँ ठगी गरेका छन्।’

पैसा बुझाएको एक हप्तामा सिंगापुर उडाइदिने भनेकोमा एक वर्ष भइसक्दा पनि हुन्छ हुन्छ बाहेक कुनै जवाफ नपाएको उनले बताए।

‘हामीलाई आफू ठगिएको थाहा पाउन वर्ष दिन लाग्यो,’ उनले भने। 

को हुन् सुजन? 
२०५८ सालमा उदयपुर त्रियुगामा जन्मिएका सुजनले आफूलाई नेपालकै ‘कान्छो पत्रकार’ दाबी गरेका थिए। 

केही समयपहिला ‘निरन्तर ९० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर गिनिज वर्ल्ड रेकर्ड्स कायम गर्ने’ भन्दै पत्रकार सम्मेलन गरेरै चर्चा चलाए।

२०७६ चैत ९ गते हिरा लुटेर भाग्दै गर्दा उनी पक्राउ परेका  थिए। त्यसको केही समय पछि उनी रिहा भए। 

गत वर्ष सुजनले एक मोडलको अश्लील भिडिओ सार्वजनिक गरिदिने धम्की दिँदै ७ करोड रुपैयाँको बार्गेनिङ गरेका थिए। 

ब्लाकमेलिङ गरेको र धम्काएको आरोपमा सुजनसहित ७ जना पक्राउ परेका थिए। त्यो मुद्दामा धरौटीमा छुटे।  

सुजन यसअघि लुटपाट र ठगीको कसुरमा पनि प्रकाउ परेका थिए। ठगी मुद्दा अझै अदालतामा विचाराधीन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .