समाज


३१ लाख लिइसकेपछि धम्की- खर्च नदिने भए बलात्कार मुद्दामा फसाइदिन्छु

पुरुषको जाहेरीपछि जेल पुगिन् महिला
३१ लाख लिइसकेपछि धम्की- खर्च नदिने भए बलात्कार मुद्दामा फसाइदिन्छु

धम्की दिँदै रकम असुलीमा संलग्नहरु। तस्बिर : नेपालखबर


नेपालखबर
पुस २८, २०७९ बिहिबार १३:१५, काठमाडौँ

दाङको गढवा गाउँपालिका-६ कोठरीकी अनुष्का सिंह भन्ने कृष्णा गहतराज दुई दिनदेखि कारागारमा छिन्। ६ वर्षदेखि भरथेग गर्दै आएका पुरुषसँगको सम्बन्धले उनलाई जेल पुर्‍याएको हो।

रुकुमका एक पुरुषसँग उनी २०७२ देखि प्रेम सम्बन्धमा थिइन्। श्रीमानसँग सम्बन्ध बिग्रिएपछि कृष्णालाई तीनै पुरुषको भरथेग थियो। 

तर कृष्णाले स्नातक पढ्न काठमाडौं जान्छु भन्दै ती पुरुषसँग रकम माग्न थालेपछि उनीहरुको पनि सम्बन्ध बिग्रियो। ३१ लाख खर्च गर्दा पनि ‘ब्ल्याकमेलिङ’ गर्दै रकम माग्न नछाडेपछि ती पुरुष प्रहरीको शरणमा पुगे, जाहेरी दिए।

ती पुरुषको जाहेरीअनुसार मुद्दा अघि बढ्दा जिल्ला अदालतले कृष्णालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो। 

जिल्ला अदालत दाङका न्यायाधीश रामप्रसाद बस्यालको इजलासले कृष्णालाई आइतबार पुर्पक्षका लागि थुनामा पठाउन आदेश दियो।

त्यही घटनामा कृष्णासँग मिलेर ती पुरुषसँग रकम उठाउने तीनजनासँग जनही एक लाख रुपैयाँ धरौटी मागिएको छ। 

धरौटी बुझाउन नसकेपछि तुलसी उपमहानगरपालिका-१५ डोक्रेनाकी ३८ वर्षीया कृष्णाकुमारी बस्नेत पनि थुनामा छिन्। 

घोराही उपमहानगरपालिका-१० नारायणपुरका २६ वर्षीय लुद्रबहादुर केसी र घोराही-४ गोग्लीका ३७ वर्षीय तुलसीराम विश्वकर्मा जनही एक लाख रुपैयाँका धरौटी बुझाएर छुटेका छन्। कृष्णा गहतराज र कृष्णकुमारी बस्नेत अहिले कारागारमा छन्। बस्नेत एक लाख रुपैयाँ धरौटी बुझाएर छुट्न सक्ने छिन्। 

बलात्कार मुद्दाको धम्की दिएर यसरी पुगिन् जेल 
दाङको गढवा गाउँपालिका-६ की कृष्णा गहतराजले १५/१६ वर्षपहिले नै त्यही गाउँपालिकाका पुरुषसँग विवाह गरेकी थिइन्।

२/३ वर्ष सँगै बसेपछि उनीहरुबीच घरायसी विवाद सुरु भयो। त्यसपछि सम्बन्धविच्छेद गरेर कृष्णा छुट्टै बस्न थालिन्।

त्यसपछि तुलसी उपमहानगरपालिका-६ मा सटर भाडामा लिएर उनले खाजा पसल खोलिन्।

२०७२ सालमा खाजा खान आएका एक पुरुषसँग उनको चिनजान भयो। कुराकानी बढ्दै जाँदै कृष्णा तीनै पुरुषसँग नजिकिइन्। 

२०७४ सालदेखि उनीहरु धेरै नजिक भएर सँगै बस्न थाले। कृष्णालाई केही पर्दा आर्थिकसहित सबै सहयोग उनै पुरुषले गर्थे। 

कृष्णालाई उनैले पढ्न पनि सल्लाह दिए। ती पुरुषको खर्चमा कानुन लिएर कृष्णाले ११ र १२ कक्षा पढिन्। कृष्णाको कोठाभाडा पनि उनैले तिर्थे। उनीहरुबीच सम्बन्ध प्रगाढ थियो। 

तर कृष्णाले एकदिन अब स्नातक पढ्न काठमाडौं जाने बताइन्। त्यसका लागि ती पुरुषसँग कृष्णाले खर्च दिन भनेकी थिइन्। तर पैसा दिन मानेनन्, आफ्नै खर्चमा पढ भनेर जवाफ फर्काए।

पैसाका कारण उनीहरुको सम्बन्धमा दरार सुरु भयो। कृष्णाले ती पुरुषलाई भनिन्, ‘पैसा दिने भए दे, नत्र बलात्कारको मुद्दामा जेल पुर्‍याइदिन्छु।’

त्यसलगतै ती पुरुषले कृष्णाको खातामा २ लाख रुपैयाँ जम्मा गरिदिए। २ लाख दिएपछि पनि कृष्णाले उनलाई धम्क्याउँदै पैसा लिइरहिन्। ‘मेरो इज्जत भर्नुपर्छ, नत्र राम्रो हुने छैन’ भन्दै धम्क्याएपछि ती पुरुषले कृष्णालाई नेपालगन्ज बोलाए। त्यहाँ उनीहरुबीच छलफल भयो। 

१४ लाख ४० हजार रुपैयाँ दिएपछि दुई जनाबीच अबदेखि कोही कसैले धाकधम्की नदिने, मानसिक यातना नदिने भनेर मिलापत्रसमेत भएको थियो। 

त्यसपछि केही समय कृष्णाले ती पुरुषलाई सम्पर्क गरिनन्। तर, एक दिन उनी कृष्णकुमारी बस्नेतको घरमा पुगिन्। उनले काठमाडौं पढ्न जान पैसा नपुगेको बताइन्। 

उनीहरुको सम्बन्धबारे कृष्णकुमारी पनि जानकार थिइन्। उनले तिनै पुरुषसँग माग्न भनिन्। ‘उसलाई के गर्नुपर्छ, कसरी दिलाउनु पर्छ, मैले जानेको छु’ भन्दै थप उस्काइन्। 

तत्काल ती पुरुषलाई फोन गरिन्, ‘तपाईंले अनुष्का बहिनीको जिन्दगी बिगार्नुभयो। कम्तीमा तपाईंले बासको व्यवस्था गर्नुपर्छ। म केस मिलाइइदिन्छु, नत्र बहिनीले छोड्नेवाला छैनन्।’

कृष्णकुमारीले नै केही दिनपछि कृष्णा गहतराजलाई बोलाएर ती पुरुषले पढ्ने खर्च दिन्छु भनेका छन् भेट्ने सल्लाह भएको छ भन्दै खबर गरिन्। प्रहरीका अनुसार दुवैजनाले ती पुरुषबाट थप रकम फुत्काउने योजना बनाएका थिए। 

उनीहरु सबै बस्नेतको घरमा जुटे। कृष्णा पनि त्यहीँ पुगिन्, ती पुरुष पनि आए। रुद्रबहादुर केसी पनि त्यहाँ पुगे। जसरी हुन्छ, कृष्णालाई घर बनाइदिनु भन्दै उनीहरुले धम्क्याए। कृष्णालाई काठमाडौं जाने खर्च भन्दै ती पुरुषले ४० हजार रुपैयाँ दिए। थप कुरा गर्न घोराहीमा बोलाएर त्यसदिन उनी फुत्किए।

लगत्तै काठमाडौं आएकी कृष्णा केही दिन बसेर फर्किन्। फर्किएपछि कृष्णा र तुलसीराम विश्वकर्माको भेट भयो। तुलसीरामले पनि घटनाबारे थाहा पाएका थिए। 

उनले कृष्णासँग ती पुरुषको मोवाइल नम्बर मागे। गत कात्तिक २२ गते तुलसीरामले कृष्णालाई फोन गरेर भने, ‘मैले ती व्यक्तिसँग कुरा गरेको छु। उनले तिमीलाई पढाई खर्च दिन्छन्। एउटा घर पनि किनिदिन्छन्। तिमी आजै घोराही आउनु, उसलाई पनि बोलाएको छु।’

कृष्णाले बयानमा भनेअनुसार उनी घोराहीस्थित तुलसीरामले दिएको स्थान काठेकोहलको टी थ्री प्यालेस पुगे। 
तुलसीरामले कृष्णालाई घोराही बजारको उखुबारीस्थित घर देखाए। त्यो घर मालपोत कार्यालयबाट छिनुवा पास भएकाले त्यही किन्ने भने तुलसीरामले। घर किन्न तुलसीराममार्फत ती जाहेरवाला पुरुषले १४ लाख रुपैयाँ दिएका थिए। कृष्णाको नाममा १५ लाख रुपैयाँको चेक पनि लगेका थिए घर किन्न।

तर त्यसपछि पनि केहीले घडेरी किन्न र कहिले घर किनिदिन नभए बलात्कारको मुद्दा लगाउने भन्दै धम्क्याउन नछाडेपछि ती पुरुष गत असोज १४ गते प्रहरी कार्यालय पुगे। 

कृष्णाले श्रीमानले छाडेपछि अलपत्र परेको बताएपछि आफूले ती महिलालाई सहयोग गरेको जाहेरीमा उल्लेख छ। पछि तीनै महिलाले आफू र आफ्नो परिवारलाई फोन र सामाजिक सञ्जालमार्फत धम्क्याएको तथा जति दिँदा पनि धम्क्याएर पैसा माग्न नछाडेको उनले उल्लेख गरेका छन्। 

आफूले सामाजिक लोकलाज ढाक्न ती महिलालाई रकम दिएको जाहेरवालाले उल्लेख गरेका छन्। गुणको प्रयोग गरी आफ्ना परिवारलाई धम्क्याएको र ५ करोडसम्म रकम माग गर्दै आफूलाई म्यासेज पठाएको जाहेरीमा उल्लेख छ। 
आफूले चेक र नगद गरी ३१ लाख ५३ हजार २५० रुपैयाँ ती महिलालाई दिइसकेको भन्दै रकम फिर्ता गराइदिन पनि उनले माग गरेका थिए। 

जाहेरीपछि प्रहरीले घटनामा संलग्न ४ जनालाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा कृष्णाले ती पुरुषलाई बिहे गर्न दवाव दिएको तर नमानेपछि संगठित रुपमा धम्क्याउँदै पटक पटक रकम लिएको पाइएको प्रहरीले जनाएको छ। 

कृष्णासहितका व्यक्तिले आपराधिक लाभ अन्तरगतको कसुर गरेको भन्दै प्रहरीले संगठित अपराध निवारण ऐन २०७० अनुसार कारबाही गर्न रायसहितको प्रतिवेदन बुझाएको थियो। जाहेरवालाई रकम फिर्ता गराउन पनि माग गर्दै अदालतमा मुद्दा दर्ता भएको छ। 

आपराधिक लाभ लिएको कसुरमा ४ वर्षसम्म कैद र ४० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। यस्तै क्षतिपूर्ति भराउनुपर्ने पनि कानुनमा व्यवस्था छ। अब अदालतले कृष्णाको सजाय फैसलापछि टुंगो लगाउनेछ। तर, त्यतिन्जेल उनी कारागारमै रहनेछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .