समाज


जसले जेलबाट छुटाउन लडिरहिन्, उनैलाई नभेटी हिँडे शोभराज

मुटुको अप्रेशन गर्दा रगत दिएकी थिइन् निहिताले
जसले जेलबाट छुटाउन लडिरहिन्, उनैलाई नभेटी हिँडे शोभराज

चार्ल्स शोभराज र निहिता विश्वास


नेपालखबर
पुस ८, २०७९ शुक्रबार १९:८, काठमाडौँ

कुख्यात सिरियल किलर चार्ल्स शोभराज रिहा हुने खबरसँगै  केन्द्रीय कारागार सुन्धारामा धाउनेमध्ये थिए शकुन्तला थापा र उनकी छोरी निहिता विश्वास।

बुधबार सर्वोच्च अदालतले ७७ वर्षमाथिका ज्येष्ठ नागरिकले पाउने सुविधाअनुसार शोभराजको ७० प्रतिशत सजाय माफ गर्दै रिहा गर्न आदेश दिएको थियो।

उक्त आदेशपछि निहिता र शकुन्तला शोभराज छुट्ने आशमा केन्द्रीय कारागार पुग्थे। तर त्यहाँ उनीहरुले शोभराजलाई भेट्न पाएनन्। 

पछिल्लो समय शोभराजको मुद्दा अधिवक्ता गोपाल शिवाकोटीले हेरिरहेका थिए। उनी केन्द्रीय कारागारका जेलरमार्फत शिवाकोटीसँग नियमित कानुनी परामर्शमा थिए।

जेलबाट शुक्रबार रिहा हुनुअघि र रिहा भएर अध्यागमनमा पुग्दा पनि शोभराजले नियमित भेट र छलफल गरेका एक व्यक्ति थिए शिवाकोटी।

तर शोभराज जेलमै हुँदा प्रेमिकाका रुपमा चर्चित नेपाली युवती निहिता विश्वासका लागि शुक्रबारको दिन एक किसिमको सरप्राइज नै भयो। 

अध्यागमन विभागमा निहिता विश्वास। तस्बिर : सरोज बैजु/नेपालखबर

जेलमै हुँदा २०६५ असोजमा आफूभन्दा ४५ वर्ष जेठा कैदीसँग जेलमै बिहे गरेकी निहितालाई शोभराजले शुक्रबार भेट्नसमेत मानेनन्। 

सुन्धारास्थित केन्द्रीय कारागारको गोलघरमा रहेका बेला शोभराजसँग बिहे गर्दा निहिता विश्वास २० वर्षकी थिइन्। शोभराज त्यतिबेला ६४ वर्षका थिए। अहिले उनी ७७ नाघेपछि सजाय छुट पाए। निहिता ३५ वर्षकी भइसकेकी छन्। 

उनी नेपालमा १९ वर्ष लामो जेल जीवन बिताएपछि डिपोर्ट भएर फ्रान्सतिर लागेका छन्। उनलाई शुक्रबार साँझ ६ बजेको कतार एयरवेजको उडानबाट दोहातर्फ पठाइएको छ। त्यहाँबाट उनी शनिबर बिहान फ्रान्सको पेरिसमा अवतरण गर्नेछन्। 

यसअघि २०७१ तिरै यी दुईजनाको प्रेमसम्बन्ध धरापमा परेको चर्चा थियो। त्यसलाई शोभराजले शुक्रबार पुष्टि गरे। 

निहिता र शकुन्तलाले शु्क्रबार पटक पटक अध्यागमन विभागको गेट कुरिरहे। तर शोभराजले नै अध्यागमनका अधिकारी र प्रहरीलाई उनीहरुसँग भेट्न नचाहेको बताएपछि आमाछोरी निराश हुनुपरेको छ। 

निहितालाई आमा शकुन्तला साक्षी बसेर शोभराजसँग जोडी बाँधिदिएकी थिइन्। तर उनै शोभराजले आफ्नी सासु र निहितालाई भेट्दै नभेटी फ्रान्सतिर उडेका छन्।

शोभराजलाई अध्यागमन पुर्‍याउनेबित्तिकै निहिताले आफू पनि फ्रान्स जाने बताएकी थिइन्। शोभराजलाई नेपालमा असुरक्षा हुने भएकाले पहिले उनलाई शुक्रबारै साँझ फ्रान्स उडाउने उनले बताएकी थिइन्। 

उनले  त्यसक्रममा शोभराज र आफ्नो सम्बन्धबारे प्रश्न नगर्न आग्रह गरिन्। बरु आफू पनि अधिवक्ता भएकाले यहाँका केही कानुनी काम सकेर फ्रान्स जाने उनको भनाइ थियो।

'उसको र मेरो सम्बन्ध भनेको पर्सनल लाइफ हो। त्यसबारे तपाईंहरुले नसोध्नु होला। पेरिस जाने कुरामा मलाई हतार छैन। मेरो केही कानुनी जिम्मेवारी पनि छ। त्यतिकै जान मिल्दैन', उनले भनेकी थिइन्, '१२ वर्षअघि जेलमा भएको बिहेको मान्छेलाई चासो छ। चासोले कुनै उपलब्धी दिँदैन। म चाहिँ उसको कानुन व्यवसायी भएकाले अहिले उसलाई जोगाउन लागेको छु।'

गंगालालमा मुटुको अप्रेशन गर्दा शोभराज। तस्बिर : डा. रामेश कोइराला

तर पेरिस जाने मुडमा रहेकी निहिताले जेलमै विवाह गरेका शोभराजको एक झल्कोसमेत हेर्न पाइनन्। 

निहिताले शोभराजसँगको प्रेमपछि कानुन पढेर आफैं अधिवक्ता बनिन्। उनकी आमा शकुन्तलाले सुरुबाटै शोभराजको पक्षमा मुद्दा लडेकी थिइन्। 

शोभराजका लागि १२ वर्षसम्म कानुनी लडाइँ लडेकी निहिताले बरु अर्का वकिल गोपाल शिवाकोटीलाई फेक वकिल भनेर गाली गरिन्। 

निहिताले जेलमा हुँदा शोभराजका लागि लडिन् तर जेलमुक्त हुँदा भेट्न पनि पाइनन्। 'शोभराजले निहितासँग भेट्नै माननेन्। हामीले कसैलाई भेट्नु छ, पत्रकारसँग बोल्छु भन्दा उनले इन्कार गरे', एक अध्यागमन अधिकारीले भने, 'सुरक्षा अधिकारी, अध्यागमन कर्मचारी र जेलर तथा वकिल गोपाल शिवाकोटीबाहेक अरुसँग भेट्नै मानेनन्।' 

निहिता र उनकी आमाले शिवाकोटीमार्फत पटक पटक भेट्ने प्रयास गरेका थिए। तर शिवाकोटीले पनि नभेटाइदिएपछि उनैलाई फेक वकिल भन्दै आमाछोरीले गाली गरे। 

एकजना प्रहरी अधिकारीका अनुसार शोभराजले प्रहरीसँग पनि निहिता र आफ्नो मुद्दा लडेकी शकुन्तलासँग भेट नगराइदिनु् भनेका थिए।  

यसअघि उनै शोभराजलाई थुनामुक्त गर्न माग गर्दै मुद्दा हाल्ने काम निहिता र उनकी आमा शकुन्ताले गरेका थिए। तर शुक्रबार प्रहरीले पत्रकारका क्यामेयरासमेत छेउ पर्न नदिइ विमानस्थल लग्यो। 

तर उनी २०६७ सालमा काठमाडौं जिल्ला अदालतमा मुद्दा पर्दादेखि नै शोभराजको वकिल रहेको खुलेको छ। यो मुद्दाको सर्वोच्च अदालत छिनोफानो गर्दासम्म शकुन्तला शोभराजकी वकिल थिइन्। तर पछिल्लो समय यो काम गोपाल शिवाकोटीले गर्दै आएका थिए। \

अध्यागमन विभागमा निहिता र उनकी आमा शकुन्तला। तस्बिर : सरोज बैजु/नेपालखबर

आमा शकुन्तलाले मुद्दा लड्दा जेल आउजाउका क्रममा शोभराज र निहिताको चिनजान भएको बताइन्छ। तर निहिताले भने शोभराजलाई आफूले अदालतमै भेट्टाएको शुक्रबार बताइन्। 

२०७४ जेठ २९ अस्पतालमा शोभराजको मुटुको शल्यक्रिया हुँदा रगत दिएकी निहिताको गुणसमेत नसम्झी शोभराज बाटो लागेका छन्। 

शोभराजसँग माया साटेकी निहिताले रक्त समूह मिलेपछि त्यसबेला आफैंले गंगालाल हृदयरोग केन्द्रमा पुगेर रगत दिएका थिइन्। 

शोभराजलाई '‌ओ पोजेटिभ' रगत दिएर माया बढाएकी निहिताले पटक पटक भेट्न चहाँदा पनि शोभराजले इन्कार गर्नुको कारणबारे अध्यागमन र प्रहरी अधिकारी पनि मौन छन्। 

२०६७ मा सर्वोच्च अदालतले शोभराजलाई दोषी ठहर गर्दा विवादित टिप्पणी गरेर निहिताले अदालतको अवहेलना मुद्दा खेपेकी थिइन्। 

त्यसयता शोभराजको एकजना वकिलका रुपमा मुद्दा लडेकी निहितालाई हेर्दै नहेरी उनले नेपाल छाडेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad