मकवानपुरको कैलाशमा सञ्चालित बालगृहमा एक किशोरीलाई बलात्कार गरेको आरोपमा बालगृहका अधिकृत पक्राउ परेका छन्।
कैलाश गाउँपालिका–३ मा विपन्न र जोखिममा परेका बालबालिकाका लागि सञ्चालित बालगृहमा बस्दै आएकी १७ वर्षीया किशोरीलाई पटक-पटक बलात्कार गरेको आरोपमा सोही बालगृहका अधिकृत ४८ वर्षीय मधुसुदन राउत पक्राउ परेका हुन्।
प्रहरीका अनुसार राउतलाई असार २७ गते शुक्रबार दिउँसो काठमाडौँबाट पक्राउ गरिएको हो।
कैलाश गाउँपालिकाकै स्थानीय १७ वर्षीया किशोरी विगत चार वर्षदेखि सांग्रीला डेभलपमेन्ट एसोसिएसनले सञ्चालन गर्दै आएको बालगृहमा बस्दै आएकी थिइन्।
उनका बुवाको केही वर्षअघि दुर्घटनामा मृत्यु भएको थियो। बुवाको मृत्युपछि आमा समेत सम्पर्कविहीन भएपछि उनी मामाघरको हजुरआमासँग बस्दै आएकी थिइन्।
मामाघरकी हजुरआमाको आर्थिक अवस्था कमजोर रहेको भन्दै उनलाई सोही बालगृहमा राखिएको थियो।
पीडित किशोरीले असार ८ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राउत विरुद्ध जाहेरी दर्ता गराएपद्धि राउतलार्य पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक डीएसपी श्यामु अर्यालले जानकारी दिए।
राउतले पटक पटक बलात्कार गर्दै आएको भनी जाहेरीमा उल्लेख गरेको डीएसपी अर्यालले बताए। गत जेठ १ गतेदेखि ८ गतेसम्मको अवधिमा होस्टेल प्रमुख राउतले आफूलाई पटक–पटक बलात्कार गरेको पीडितले जाहेरीमा उल्लेख गरेकी छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता भएको जाहेरीका आधारमा राउतलाई शुक्रबार काठमाडौँबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको छ।
आइतबार (आज) अदालतबाट म्याद थप गरी राउतमाथि थप अनुसन्धान अघि बढाइने तयारी भैरहेको डीएसपी अर्यालले बताए। उक्त बालगृहमा हाल १५ जना बालिका बसिरहेका छन्।
Shares

प्रतिक्रिया