समाज


१८ दिनपछि भेटियो जमिनमा दबिएको गाडीको पार्टपुर्जा

१८ दिनपछि भेटियो जमिनमा दबिएको गाडीको पार्टपुर्जा

सुनिता विष्ट
जेठ ६, २०८२ मंगलबार १८:२८, काठमाडौँ

गत वैशाख १९ गते जमिनमा दबिएको डिआई गाडीको पाटपुर्जा फेला परेको छ। मंगलबार (आज) दिउँसो स्थानीय जनप्रतिनिधिहरूको रहोवरमा क्रेन र स्काभेटर प्रयोग गरेर खोज्ने क्रममा दबिएको गाडीको पुर्जाहरू फेला परेको हो। भूगर्भ शास्त्र केन्द्रीय विभाग, काठमाडौँबाट खटिएको भूगर्भविद्को टोलीले गरेर अध्ययनले गाडी सोही खाल्टोमा दबिएको निष्कर्ष निकालेको थियो। 

दुर्घटनास्थलको माटो परिक्षणका लागि लगिएकोमा सुरक्षा अपनाएर गाडी खोज्न सकिने राय प्राप्त भएपछि स्थानीय जनप्रतिनिधिले स्काभेटर र क्रेन प्रयोग गरेर हराएको गाडीको खोजी गरेका हुन्।

करिब १० मिटर तल उत्खनन् गर्ने क्रममा गाडीको पार्टपुर्जाहरू फेला पारिएको हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडाका वडाध्यक्ष रामकृष्ण कोइरालाले जानकारी दिए। उनका अनुसार अहिले पनि जमिन खोतल्ने काम भैरहेको छ। ज्मिनमा दबिएको कारण गाडी पूर्ण रुपमा क्षति भएको अवस्थामा टुक्राटुक्रा फेला परेको छ। 

ना ४ च ४८३३ नम्बरको डीआई गाडी हेटौँडा-१६ र १७ को सिमानामा पर्ने गौरीगाउँस्थित कच्ची सडकको हिलोमा फसेको र केही बेरमै जमिनमा दबिएको थियो। हिलोमा फसेको गाडी निकाल्ने क्रममा ५ सेकेन्डकैबीचमा उक्त गाडी जमिनमै दबिएको थियो। उक्त गाडी र त्यस स्थानको अध्ययन गर्न घटना घटेको तेस्रो तीन काठमाडौँबाट भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा ५ जना फिल्डमा खटिएका थिए।

त्यस स्थानको अध्ययन र म्याग्नेटो मिटरको आधारमा गाडी दबिएको स्थान वरपर चुम्बकीय क्षेत्र तथा पदार्थको अवस्था अध्ययन गरेका थिए। भूगर्भविद् अधिकारीको नेतृत्वमा आएका टोलीले जमिनमुनि भासिएको गाडी र घटनास्थल आसपासको माटोको बनावट, भूगर्भीय अवस्था, भूमिगत जल तथा चुम्बकीय क्षेत्रको परीक्षण गरेका थिए। गाडी सोही खाल्टोमा रहेको निष्कर्ष निकालेपछि मंगलबार दिउँसो खोजीकार्य सुरु गरिएको हो। 

माछाको दाना लिन गाडी धनिसमेत आफैँ रहेका चालक रामहरि राई त्यसस्थानबाट हेटौँडा बजारतर्फ आउने क्रममा घटना घटेको थियो। सोही क्रममा बोरिङ खनेको सानो खाल्टोमा गाडी फसेपछि निकाल्ने क्रममा एक्कासी गाडी जमिनमै बिलाएको थियो। गाडीमा रहेका चालक राई र सहचालक मुक्तिनाथ सहनीले भने भागेर ज्यान जोगाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad