मकवानपुरको भिमफेदी गाउँपालिका–९ स्थित छैसठ्ठी मोडमा आज दिउँसो भएको गाडी दुर्घटनामा घाइते भएकाहरूको पहिचान खुलेको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
चित्लाङबाट सर्लाहीको लालबन्दीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ज ०१४७ नम्बरको विङ्गर गाडी दिउँसो करिब १ बजेको समयमा त्रिभुवन राजपथअन्तर्गत छैसठ्ठी मोडमा अनियन्त्रित भई करिब २० मिटर तल खस्दा सल्लाको रुखमा अड्किएको थियो।
दुर्घटनामा घाइते हुनेमध्ये पहिचान खुलेका व्यक्तिहरूमा लालबन्दी नगरपालिका–१५ निवासी २८ वर्षीया अम्वरी लो, लालबन्दी–१६ निवासी ३६ वर्षीय रितिक राई, सोही स्थानका पदमबहादुर श्रेष्ठ, र लालबन्दी–१६ कै राजाराम बस्नेत रहेका छन्। बस्नेतको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ।
त्यस्तै, घाइतेमध्ये लालबन्दी–१ का ५६ वर्षीय कमल थापा र लालबन्दी–१६ की ३० वर्षीया शान्ता बि।कको अवस्था पनि गम्भीर रहेको जनाइएको छ।
अन्य घाइतेहरूमा लालबन्दी–४ का सरोजकुमार चौधरी, लालबन्दी–१५ की निर्मला विक, सीमा घलान, निलिमा खड्का, सुस्मा विक, लालबन्दी–१६ की कल्पना विक र ३२ वर्षीया पवित्रा घिसिङ तथा लालबन्दी–५ निवासी ५० वर्षीय समिर सुवेदी रहेका छन्।
दुर्घटनाबाट ३ जना गम्भीर, ८ जना मध्यम घाइते र ३ जना सामान्य घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले गाडीको ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ।
घाइतेहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया