समाज


बाढीपहिरो: काभ्रेमा ७ महिनापछि निजी आवासमा पुगेको क्षति आँकलन सुरू

बाढीपहिरो: काभ्रेमा ७ महिनापछि निजी आवासमा पुगेको क्षति आँकलन सुरू

नेपालखबर
बैशाख ७, २०८२ आइतबार १०:२४, काभ्रे

२०८१ असोज दोस्रो साताको अविरल वर्षापछि आएको बाढीपहिरोले काभ्रेमा बागमती प्रदेशमै सबैभन्दा बढी जनधनको क्षति पुर्यायो। घटनाको करिब सात महिनापछि सरकारले यहाँ सबैभन्दा बढी जनधनको क्षति भएको रोशी गाउँपालिकाबाट निजी आवासको विस्तृत क्षति आँकलन सुरु गरेको छ।

गृहमन्त्री रमेश लेखकले रोशी गाउँपालिका–२ नारायणटारबाट बुधबार यसको सुरुवात गरेका छन् । उनले उक्त पालिकाको वडा नम्बर २ का तीन जना पीडितलाई क्षति आकलन निस्सा प्रदान गर्दै विस्तृत क्षति आकलनको सुरुवात गरेका हुन्। 

त्यस दिन पीडित स्थानीय धनसिंह लामा, राजन बोहोरा क्षेत्री र शुभद्रा सेञ्चुरीले गृहमन्त्रीबाट निस्सा प्राप्त गरे । उक्त घटनामा अतिप्रभावित रोशी गाउँपालिकाबाट यस कार्यको शुभारम्भ गरिएको र अब प्रभावित सबै पालिकामा यसरी नै क्षति आकलन गर्नेगरी गृहमन्त्री लेखकले गृहकार्य गर्न निर्देशनसमेत दिए । पीडितलाई निस्सा प्रदान गर्नुअघि लेखकले बाढीपहिरो प्रभावित नारायणटारको अवलोकन गरेका थिए।

गृहमन्त्री लेखकले प्रक्रियागत रूपमा बाढीपहिरोबाट प्रभावितको पुनर्निर्माणको कार्य सुरु गर्न ढिलो भएको स्वीकार गर्दै अस्थायी आवास निर्माणका लागि दुई चरणमा ५० हजार र स्थायी घर निर्माणका लागि सरकारको तर्फबाट क्रमशः अनुदान उपलब्ध गराउने जानकारी गराए।

सरकारले बुधबार मात्र अस्थायी आवास निर्माणका लागि काभ्रेमा सात करोड ३५ लाख निकासा गरेको छभने काभ्रेपलाञ्चोकमा विस्तृत क्षति आकलनका लागि १८ जना प्राविधिक खटाइएको छ । यसको सहजीकरणका लागि स्थानीय जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीलाई विशेष रूपमा ध्यानाकर्षण गराइएको छ।

रोशी गाउँपालिकामा पाँच सय ६३ घर क्षति भएका छन्। रोशीमा तीनवटा क्लस्टर बनाएर क्षति आकलनको काम सुरु गरिएको छ। यसमा प्राविधिकले क्षति हेरेर विवरण निर्धारण गरेपछि मात्र सोहीअनुसार गाउँपालिकाले काम सुरु गर्ने छ।

बढीपहिरोबाट विस्तृत क्षति आकलनपछि जिल्लामा पुनर्निर्माणको काम सुरु गर्न सहज भएकाले अब यसले गति लिनेमा आफू विश्वस्त रहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल बताउँछन्। ‘अब प्रभावित क्षेत्रका निजी घरका साथै पुल, भौतिक संरचना, तटबन्धनलगायत पूर्वाधार निर्माणमा पनि सरकारले सहयोग गर्न सहज हुने विश्वास गरेका छौँ’, ढकालले भने।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ दिनेश भट्ट पीडितले अस्थायी र स्थायी आवास निर्माणको काम एकैपटक गर्न चाहेमा त्यो पनि सम्भव भएको तर त्यसका लागि विस्तृत क्षति आकलनको काम भने अनिवार्य हुनुपर्ने बताउँछन्। 

उनी भन्छन्, ‘यसअघि स्थानीय तहले प्राधिकरणको पोर्टलमा प्रविष्ट गरेको र अबको पूर्ण क्षति आकलनबाट एकीन तथ्याङ्कबाट अझ प्रभावकारी राहतरअनुदानका लागि सहज हुनेछ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँले आउँदो वर्षाअघि रोशीमा जाने सडक निर्माणमा जोड दिनसके मात्र अस्थायी र स्थायी आवास निर्माण गर्न सकिने बताउँदै फलामेटारमा बाढीले बगाएर केही बाँकी रहेको पुललाई जोगाउन नसके आगामी दिन अझ कठिन हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

बाढीपहिरोबाट काभ्रेपलाञ्चोकमा ८१ जनाको निधन भएको छभने छ जना अझै बेपत्तामा सूचीकृत भएका छन्। यहाँ अर्बौँका भौतिक संरचना, पुल, अस्पताल, विद्यालय, सङ्ग्रहालयलगायत बाढीपहिरोले क्षति पुर्याएको थियो। बाढीपपहिरोले जिल्लाको १३ स्थानीय तहमध्ये पनौती नगरपालिकाको रोशी क्षेत्र तथा रोशी र बेथानचोक गाउँपालिकमा सबैभन्दा बढी जनधनको क्षति पुगेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad