ad ad

समाज


कञ्चनपुरको रौटेलामा १९ फिटको त्रिशूल

कञ्चनपुरको रौटेलामा १९ फिटको त्रिशूल

नेपालखबर
असोज २५, २०७६ शनिबार ७:५२,

कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको धार्मिक पर्यटकीयस्थल रौटेलामा १९ फिटको त्रिशूल स्थापना गरिएको छ। नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी नगरपालिकाका सबै वडाको प्रतिनिधित्व हुने गरी बैजनाथ मन्दिर नजिक धार्मिक पर्यटकीय मार्गको प्रस्थान बिन्दुमा त्रिशूल राखिएको छ।

नगरप्रमुख सुरेन्द्र विष्टले भ्रमण वर्ष २०२० लाई सफल बनाउन सन् २०१९ लाई पूर्वाधार र प्रचार वर्ष घोषणा गरिएको बताए। घोषणाअनुसार रौटेलामा त्रिशूल राखिएको हो। रौटेला धार्मिक र पर्यटकीयस्थल भएकाले सबै वडाको प्रतिनिधित्व हुने गरी त्रिशूल राखिएको नगर प्रमुख विष्टले बताए।

प्रचारका लागि रौटेलामा यसअघि ‘होर्डिङ बोर्ड’ लगाइएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि रौटेलादेखि ब्रह्मदेवसम्म धार्मिक पर्यटकीय मार्ग निर्माण गरिएको छ। रौटेलादेखि ब्रह्मदेवसम्मका धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि प्राथमिकता दिएर काम अघि बढाइएको छ। रौटेला नजिक बाराकुण्डा क्षेत्रका सबै १२ कुण्ड पुनःभरण गरिएको छ। भारतको पूर्णागिरी माताका दर्शनार्थीलाई रौटेला बाराकुण्डासम्म पुर्‍याउने लक्ष्यसहित बाराकुण्डाका कुण्ड पुनःभरण गरिएका हुन्। पूर्णागिरी माताका दर्शनार्थी ब्रह्मदेव र महेन्द्रनगरको सिद्धनाथ मन्दिरमा पूजाआजाका लागि बर्सेनि आउने गरेका छन्। बाराकुण्डामा वनभोजस्थलसमेत निर्माण गरिएको छ।

यसैगरी बाराकुण्डाबाट विष्णु मन्दिर धामसम्म पुग्ने पदमार्ग निर्माण गरिएको छ। सरकारले गत वर्ष भम्केनी धाम, रौटेला र ब्रह्मदेवलाई १०० नयाँ गन्तव्य सूचीमा समावेश गरेको थियो। ती नयाँ गन्तव्यलाई मध्यनजर गरी प्रचार र पूर्वाधार निर्माण अघि बढाइएको हो।

भम्केनी धाममा निर्माण भइरहेको नेपाल आमाको मूर्तिका लागि नगरपालिकाले रु एक करोड सहयोग गर्ने भएको छ। त्यसमध्ये चालू आर्थिक वर्षमा नगरपालिकाले रु ५० लाख रकम प्रदान गर्ने नगरपालिकाको योजना छ। पश्चिमी सीमा नाका गड्डाचौकीमा नेपालको राष्ट्रिय झण्डा राख्ने कार्य अघि बढेको छ। झिलमिला तालसम्म पक्की सडक निर्माण गरिएको छ।

त्यसैगरी झोलुङ्गे पुल किनारमा उद्यान निर्माण शुरु गरिएको छ। झोलुङ्गे पुल सौन्दर्यका लागि नेपाल पर्यटन बोर्डसित सहकार्य गरी सोलार जडान गरिएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि झोलुङ्गे पुलदेखि बागफाँटासम्म निकुञ्ज किनार शुक्लाफाँटा पर्यटन मार्गको ट्रयाक खोलिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .