नवलपरासीको पहाडी क्षेत्र बुलिङटार गाउँपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
शुक्रबार साँझ पाल्पाको रामपुरबाट नवलपरासीको दलदलेका लागि छुटेको ग १ ज ६५ ०५ नम्बरको जिप बुलिङटार गाउँपालिका-६, निरन्दीखोलामा दुर्घटना भएको हो।
दुर्घटनामा नवलपरासी देवचुली नगरपालिका–४ का २७ वर्षीय हरि अधिकारी क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी गम्भीर घाइते भएपछि उपचारका लागि उनलाई पोखरा मनिपाल कलेजमा लगिएको थियो। उपचारकै क्रममा शुक्रबार राति अधिकारीको मृत्यु भएको डेढगाउँस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुजितकुमार देवकोटाले जानकारी दिए।
उनका अनुसार उक्त दुर्घटनामा परी देवचुली-१०, का २७ वर्षीय आशिस खनाल, सोही स्थान का १९ वर्षीय सूचना पाण्डे, देवचुली–१, का ३० वर्षीय पवन तिवारी र २४ वर्षीया संगीता पोखरेल घाइते भएका छन्।
घाइते चारै जनाको अहिले नारायणी सामुदायिक अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। निरन्दीखोलाको उकालोमा जिपले लोड तान्न नसकेपछि दुर्घटना भएको हो। जिपमा १७ जना थिए।

प्रतिक्रिया