समाज


आत्मीयता र सामीप्यता हराउँदै गएकामा चिन्ता

आत्मीयता र सामीप्यता हराउँदै गएकामा चिन्ता

ध्रुबसागर शर्मा
असोज १९, २०७६ आइतबार ११:४२,

बडा दशैँ शुरु भएसँगै लाहुरेको जिल्ला भनेर परिचय पाएको म्याग्दीका गाउँहरूमा रौनक छाएको छ। दशैँ मनाउन परदेश र स्वदेशका विभिन्न ठाउँमा मानिसहरू गाउँमा आएपछि विगतमा युवाविहीन भएका रित्ता गाउँहरू केही समयका लागि भए पनि भरिन थालेका छन्। सदरमुकाम बेनीबजारलगायत गलेश्वर, बाबियाचौर र दरवाङ आदि ग्रामीण बजारहरूमा मानिसको चहलपहल कम भएको छ।

अध्ययन, जागिर, छोरीछोरी पढाउन आदि कारणले बजारमा बस्दै आएका व्यक्तिहरू आ–आफ्नो गाउँ फर्किएपछि बेनी बजार सुनसान जस्तै बनेको छ। आफन्तहरू विदेश वा शहरबाट गाउँमा आए पनि दशैँ केवल औपचारिकतामा सीमित हुन थालेकामा बूढापाकाहरूको गुनासो रहेको छ। बल्ल बल्ल घरमा आएका छोराछोरी, नातिनातिना र आफन्तजनहरू पनि मोबाइल र इन्टरनेटमा व्यस्त हुने हुँदा मन खोलेर कुराकानी गर्न नपाइने बाबियाचौरका दधिराम शर्माले बताए।

‘एक ठाउँमा बस्दा पनि सामीप्यताको अनुभूति नै हुँदैन, सबै आ–आफ्नो तालमा व्यस्त हुन्छ, सोधेको कुरा मात्रै संक्षेपमा भन्छन् बढी कुरा गर्ने समय नै हुँदैन’, शर्माले भने, ‘प्रविधिले सामिप्यता र आत्मियतामाथि नै अतिक्रमण गरेको छ।

दशैँ मनाउने शैलीमा परिवर्तन

करिव चार दशकअघिको दशैँ र अहिलेको दशैँ मा धेरै भिन्नता आइसकेको स्थानीय बृद्धबृद्धाहरूले बताएका छन्। युवा विदेश पलायन, सामाजिक संस्कारमा आएको विचलन र प्रविधिको विकासले दशैँलाई फरक बनाउँदै लगेको उनीहरूको भनाइ रहेको ।

त्यसैगरी भौतिक पूर्वाधारमा आएको विकासका कारण अव घर सिंगारपटार, लिपपोत गर्ने चलन हराउँदै गएको छ। लिंगे पीङ र चमच्चा गाउँघरमा देखिन छोडेका छन् भने युवा र बालबालिकाहरू मोवाइल, ल्यापटप लगायतका प्रविधिमा व्यस्त हुने गरेका म्याग्दीका साजिक विकास विज्ञ हरिकृष्ण आचार्यले बताए।

गुञ्जिनै छोड्यो मालाश्री धुन

दशैँमा गाउँका घरघरमा पुगेर क्लाँटा बाजा बजाउँदै मालाश्री धून बजाउने चलन हट्दै गएको छ। अहिले त्यो धुन रेडियो, टेलिभिजनमा प्रशस्त सुन्न पाइन्छ। मालाश्री धुन कस्तो हुन्छ? अहिलेका पुस्तालाई थाहा नै नभएको बेनी नगरपालिका २ का ८३ वर्षिय बेदप्रसाद शर्माले बताए।

सञ्चारमाध्यमहरूमा दशैंको समयमा व्यापकरूपमा मालाश्री धुन वज्ने भएपनि म्याग्दीका नेवार समुदायलाई बाहेक अन्यलाई मालाश्री धुनको वारेमा केही जानकारी नै छैन भन्दा अत्युक्ति हुँदैन। शान्त रसमा करुणाको सञ्चार प्रवाह गराउने मालाश्री धुनको सट्टामा अहिले गाउँघरमा पनि आधुनिक र आयातित गीत सङ्गीत बजाएर दशैं मेला आयोजना गरिएका छन्।

न गरिन्छ चण्डी पाठ, न बढाइन्छ श्रमदानमा हात

दशैँलाई नवरात्र पनि भनिन्छ। नवरात्र अवधिभर घरघरमा शक्ति स्वरुपा दुर्गाका ९ ओटा स्वरुपको वर्णन गर्दै दुर्गासप्तशति (चण्डी) पाठ गर्ने गरिन्थ्यो। तर, अव चण्डी पाठ एकादेशका कथामा परिणत भैसकेको स्थानीय बूढापाकाहरूको भनाइ रहेको छ।

‘दशैँको पहिलो दिन घटस्थापना (जमरा राखेपछि) गरेपछि साँझ विहान घरघरमा दुर्गा सप्तशति पाठ गर्ने गरिन्थ्यो’, बेनपा २ का ८३ वर्षीय बेदप्रसाद शर्माले भने, ‘तर अहिले दुर्गा सप्तशतिको पाठ गर्नु त परको कुरा दुर्गा सप्तशतिको पुस्तक समेत देख्न पाइदैन।’

त्यसैगरी दशैँमा सार्वजनिक स्थल (बाटो, मठ मन्दिर, विद्यालय, चौतारी आदि) को मर्मत तथा सरसफाइका लागि श्रमदान गर्ने चलन थियो। तर पछिल्लो समय त्यो चलन पनि हटेर गएको बूढापाकाहरूको भनाइ रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad