समाज


श्रीमान् काठमाडौं आएपछि फेरियो रोशनीको बयान

श्रीमान् काठमाडौं आएपछि फेरियो रोशनीको बयान

नेपालखबर
असोज १५, २०७६ बुधबार ८:०,

सभामुख कृष्णबहादुर महराले आफूलाई बलात्कारको प्रयास गरेको भनेर प्रहरी  र मिडियालाई जानकारी दिने संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले २४ घण्टा नबित्दै बयान फेरेपछि धेरैलाई आश्चर्य लागेको छ।

घटनापछि प्रहरीलाई फोनमार्फत् र मिडियालाई प्रत्यक्ष अन्तर्वार्ता दिएर सभामुख महराले आफूलाई बलात्कारको प्रयास गर्नुका साथै कुटपटि समेत गरेको बताउने शाहीको बयान एकाएक किन फेरियो त? धेरैले उत्तर खोजीरहेको प्रश्न हो यो।

आइतबार साँझ घटना भएको र आइतबारै प्रहरीलाई जानकारी गराएकी रोशनीले मंगलबार बिहानसम्म महराले आफूमाथि बलात्कारको प्रयास र कुटपिट गरेको आरोप लगाएकी थिइन्। उनले मंगलबार दिउँसोबाट बयान फेरेकी हुन्। उनले बयान फेर्नुको मुख्य कारण उनका श्रीमान् रहेको देखिन्छ।

कामको सिलसिलामा तनहुँ रहेका पति चित्रबहादुर शाही काठमाडौँ आएसँगै रोशनीको बयान फेरिएको हो। सोमबार दिएको अन्तर्वार्ता र मंगलबार दिएको अन्तर्वार्तामा आएका कुरामा आकास जमिनको फरक देखिन्छ। सोमबार महरालाई बलात्कारी भन्ने शाहीले मंगलबार बाबासमानको मान्छे भनेकी छन्। सोमबार कोठामै आएर बलात्कारको प्रयास गर्नुका साथै कुटपटि गरेको भनेकी रोशनीले मंगलबार भने लामो समयदेखि उनीसँग सम्पर्कै नभएको बताएकी छन्।

घटना भएको साँझदेखि नै सभामुख महरा र उनको सचिवालयको निरन्तर सम्पर्कमा रहेका पति चित्रबहादुरले सभामुख महराबाट यस्तो काम हुनै नसक्ने प्रतिक्रिया दिएका थिए। यता रोशनीले हतारमा घटना सार्वजनिक गरे पनि त्यसपछि संयम बनेको देखिन्छ। महराले जबर्जस्ती गर्न खोजेको, कुटपिट गरेको भनेर मिडियामै अन्तर्वार्ता दिने र घटनाबारे प्रहरीलाई जनाकारी गराए पनि किटानी जाहेरी भने उनले पतिसँगको सल्लाहपछि मात्रै दिने बताउँदै आएकी थिइन्। उता पतिले पनि तनहुँबाटै श्रीमतीसँगको छलफलपछि मात्रै के गर्ने भन्ने बारेमा निर्णय गर्न सकिने बताएका थिए।

चित्रबहादुर तनहुँबाट फर्केपछि मंगलबार सभामुख महरा पक्षसँग छलफल गरेको स्रोतले बतायो। त्यतिमत्रै नभइ उनले नेकपाका केही नेताहरुसँग पनि छलफल गरेको बताइएको छ। त्यसपछि उनीहरु किटानी जाहेरी नदिने टुंगोमा पुगेको देखिन्छ।

‘रोशनीका श्रीमान् चित्रबहादुर र महराजीको पहिल्यैदेखिको राम्रो सम्बन्धका कारण यो सहमति भएको हो कि जस्तो देखिन्छ’, नेकापा स्थायी समितिका एक सदस्यले नेपालखबरसँग भने।

श्रीमतीले बलात्कारको प्रयासको घटना सार्वजनिक गरे पनि पतिले भने ‘महरा सरले त्यस्तो गर्नै नसक्ने’ भन्दै आफ्नै पत्नीको आरोपको खण्डनमा प्रतिक्रिया दिँदै आएका थिए।

‘मैले महरा सरलाई २०४७ सालदेखि नै चिनेको हुँ। उहाँ त्यस्तो स्वभावको मान्छे होइन। उहाँबाट त्यस्तो कुकृत्य हुनै सक्दैन’, चित्रबहादुर शाहीले मंगलबार साँझ नेपालखबरसँग भनेका थिए, ‘मेरो उहाँप्रति पूर्ण विश्वास छ। त्यस्तो आरोप म कल्पनै गर्न सक्दिनँ। आरोपमा कुनै सत्यता छैन।’

श्रीमतीले सुरुमा लगाएका आरोपको खण्डन गरिरहेका उनले जाहेरी दिनेबारे के गर्ने भन्नेबारेमा छलफलपछि मात्रै बताउने प्रतिक्रिया दिएका थिए।

श्रीमान् काठमाडौं आएर सक्रिय भएपछि रोशनीको बयान बदलिनुले के देखाउँछ भने श्रीमान मार्फत नै घटना मिलाउने प्रयास भएको हो।

‘सभामुख महरा र चित्रबहादुरबीचको व्यक्तिगत सम्बन्धकै कारण सहमति भयो जस्तो देखिन्छ’, ती सदस्यले भने, ‘किनभने चित्रबहादुरको खण्डनले श्रीमतीमाथि भन्दापनि महरामाथि उनको विश्वास बढी रहेको जस्तो देखाउँछ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad