ad ad

समाज


नेपाललाई ‘खुला दिसामुक्त देश’ घोषणा गर्दै प्रधानमन्त्री

नेपाललाई ‘खुला दिसामुक्त देश’ घोषणा गर्दै प्रधानमन्त्री

नेपालखबर
असोज १३, २०७६ सोमबार २:४७,

नेपाललाई आज (सोमबार) खुला दिसामुक्त देश घोषणा गरिँदैछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्न लागेका हुन्।

घोषणासँगै नेपाल दक्षिण एसियामै पहिलो खुला दिसामुक्त देश बन्ने छ।

देशका ७७ वटै जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेकाले आज पूरै देशलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न लागिएको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ।

नेपालमा ५६ लाख ६० हजार दुई सय १४ घरधुरी छन्। सरकारले सबै घरधुरीमा चर्पी निर्माण भइसकेको दाबी गरेको छ।

खानेपानीमन्त्री बिना मगरले खुला दिसामुक्त देश घोषणापछि पूर्ण सरसफाइको लक्ष्य घोषणा गरिने बताएकी छन्।

खानेपानी तथा सरसफाइ मन्त्रालय अन्तर्गतको खानेपानी तथा ढल निकास विभागको तथ्याङ्कले देशका सबै घरमा चर्पी निर्माण भइसकेको देखाएको छ।

समितिका सदस्य सचिव देवेन्द्र झाले मुलुकका सबै घरमा चर्पी बनिसकेकाले देशलाई खुला दिसामुक्त घोषणा गर्न लागिएको बताए।

सरकारी तथ्यांकमा सबै घरमा चर्पी बनिसकेको देखाइए पनि वास्तविकता त्यस्तो नरहेको जानकाहरु बताउँछन्।

चर्पी अभावमा अझै ग्रामीण क्षेत्रका हजारौँ परिवार नागरिक खुला ठाउँमा दिसापिसाव गर्न बाध्य छन्। कयौँ भूमिहिन परिवारसँग शौचालय निर्माण गर्ने जमिनकोसमेत अभाव छ।

अझै पनि कयौँ विद्यालयमासमेत शौचालय छैन। भएका शौचालय पनि पानी अभावले प्रयोग गर्न सकिने हालतमा छैनन्।

देशैभरी पर्याप्त सार्वजनिक शौचालय छैनन्। बजार क्षेत्रमै सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले झाडी खोज्दै हिँड्नुपर्ने बाध्यता छ।

सरकारले दुई वर्ष अघि अर्थात् सन् २०१७ मै देशलाई खुल्ला दिसामुक्त घोषणा गर्ने तयारी गरेको थियो।

तर, खुला दिसामुक्त अभियान प्रभावकारी नहुँदा घोषणा कार्यक्रम दुई वर्ष पछि सरेको हो।

खुला दिसामुक्त अभियानमा विभिन्न अन्तर्राष्ट्रिय निकायले आर्थिक सहयोग गर्दै आएका छन्।

१० असार ०६८ मा पहिलो पटक कास्की जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेर अभियानको थालनी गरिएको थियो।

गत महिना सरकारले काठमाडौँ जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .