समाज


ट्राफिक प्रहरीले भन्योः नागढुंगामा अब जाम हुँदैन, ढुक्कले यात्रा गर्नुस्

ट्राफिक प्रहरीले भन्योः नागढुंगामा अब जाम हुँदैन, ढुक्कले यात्रा गर्नुस्

नेपालखबर
असोज १२, २०७६ आइतबार ९:४८,

केही दिनअघि काठमाडौँको नागढुंगादेखि धादिङको नौबिसेसम्म गाडीको ठूलो लाइन लाग्दा यात्रु नराम्ररी प्रभावित भए। यहाँको २०-२५ किलोमिटरको बाटो पार गर्न यात्रु घण्टौँसम्म कुर्न बाध्य भए।

यात्रु शान्ति अधिकारीले गल्छीबाट नागढुंगा उत्रिन नौ घण्टा लागेको तीतो अनुभव सुनाए। सामाजिक सञ्जालमा यात्रुको आक्रोश पोखिएका ‘स्टाटस’ले भरिएका थिए। अस्तव्यस्त भएपछि सरकारले जाम हटाउन प्रहरीलाई निर्देशन नै दिए। त्यो देख्दा यसपालिको दशैँ सास्तीमै बित्ने त होइन भन्ने आशंका भइरहेका बेला महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने सबै समस्या हल भइसकेको र अब त्यस्तो समस्या नहुने भन्दै नागरिकलाई आश्वस्त पारेको छ।

‘आज बिहानको अवस्था भन्नुपर्दा नागढुंगामा सबै सहज छ, गाडी क्युमा समेत छैन, अब ढुक्कसँग यात्रा गर्दा हुन्छ, कुनै अकल्पनीय घटनाबाहेक समस्या हुने छैन’, महाशाखाका प्रहरी उपरीक्षक रविराज पौडेलले भने। उनका अनुसार अब विस्तारै उपत्यकाको चाप घट्दो क्रममा छ। ‘खुसी र उमंगको चाड बडादशैँ आजदेखि औपचारिक रुपमा शुरु भएको छ। यो उमंग तबसम्म रहिरहन्छ, जबसम्म नेपाली सहज रुपमा आ–आफ्नो घरसम्म पुग्न सक्छन्। त्यो अवस्थामा पु¥याउनका लागि ट्राफिक प्रहरी अहोरात्र खटिएको छ’, महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले भने।

ट्राफिक प्रहरीका अनुसार अघिल्लो हप्ता केही दिन नियमित वर्षा भयो। नागढुंगा तलको ढलान गरिएको सडकमा गाडी चिप्लिएर रोकिए, त्यही समयमा केही गाडीहरु बिग्रिँदा यात्रुले जामको समस्या झेल्नुप¥यो। रातभरको प्रयाससमेत सफल नहुँदा उत्पन्न समस्या शनिबारबाट भने हटेको प्रहरीले दाबी गरेको छ।

महाशाखाका प्रमुख ढकालले यो क्षेत्रमा ४० भन्दा बढी प्रहरी खटाइएको र गाडी तान्ने दुई वटा ¥याकरसमेत तयारी अवस्थामा राखिएको जानकारी दिए। उक्त ¥याकरको ४० टनसम्मका गाडी तान्ने क्षमता छ। यातायात सहज पार्न महाशाखाले प्रहरी निरीक्षककै नेतृत्वमा १० जना छुट्टै ट्राफिक प्रहरी खटाएको छ।

यस्तै आठ जना ट्राफिक प्रहरी मोटरसाइकल गस्तीमा सक्रिय छन्। उनीहरुले उक्त सडकमा ओभरटेक गर्न नदिने र ओभरटेक गरेमा तत्कालै कारबाही गर्नेछन्। धादिङबाट समेत प्रहरी परिचालन गरिएको छ। आजबाट अत्यावश्यक सामान बोकेका बाहेक ठूला लहरी तथा ट्रकहरुलाई सात दिनका लागि आवागमन रोकेको प्रहरीले जनाएको छ।

एकै दिन एक लाख ५६ हजार यात्रु बाहिरिए

प्रहरीका अनुसार गएको २४ घण्टामा उपत्यकाबाट एक लाख ५६ हजार यात्रु बाहिरिएका छन् भने ६० हजार यात्रु भित्रिएका छन्। आठ हजार गाडी भित्रिए भने १३ हजार गाडी बाहिरिए। ‘यसले के देखाउँछ भने आजबाट उपत्यकाको चाप घट्दो छ भन्न सकिन्छ’, प्रहरी उपरीक्षक पौडेलले भने।

आज घटस्थापनासँगै उपत्यकामा स्कूल÷कलेज बन्द भएकाले जामको समस्या कम हुने प्रहरीको अनुमान छ। तर पनि मुख्य व्यापारिक क्षेत्र र चोकमा भने गाडीसँगै मानवीय चाप बढी भएकाले त्यसको व्यवस्थापनमा प्रहरी खटाइएको महाशाखाले जनाएको छ।

व्यापारिक क्षेत्रमा साँझको समयमा बढी मानवीय चाप रहेकाले त्यस क्षेत्रमा क्युमा केही गाडीहरु रहने गरेका छन्। उपत्यकाको सवारी व्यवस्थापन गर्न प्रहरीले ३६८ स्थानमा सवारी जाँच गरिरहेको छ। यसअघि ७५० ट्राफिक प्रहरी खटिएकामा अहिले ४३० प्रहरी थप खटाइएको छ। बसपार्कका विभिन्न नाकाका १५ स्थानमा विशेष चेकजाँच भइरहेको छ।

मापसेविरुद्ध कडाइका साथ जाँच भइरहेको बताउँदै महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक ढकालले भने, ‘अब कसैले मापसे गरेर गाडी चलाउँछु भन्ने नसोचे हुन्छ।’ मन्दिरमा पूजाआजा गर्ने स्थान र किनमेल गर्ने न्युरोड जस्ता स्थानमा बढी चाप छ, शुभकामना आदानप्रदान कार्यक्रमहरु बढेका छन्, त्यसतर्फ हामीले निगरानी बढाएका छौँ,’ ढकालले भने।

प्रहरीको सक्रियताले अहिले दैनिक १६ देखि १७ सयसम्म कारबाहीमा पर्ने गरेको उनले बताए। ‘अब नागढुंगा क्षेत्रमा अस्तिको जस्तो जाम हुँदैन, ढुक्कसँग यात्रा गर्दा हुन्छ, केही समस्या परे प्रहरीलाई भन्नुुहोला, प्रहरीले सहयोग गर्ने छ”, महाशाखा प्रमुख ढकालले थपे। ट्राफिक सचेतना, जानकारी र व्यवस्थापनका लागि स्वयम्सेवक र कलाकारहरुले समेत आ–आफ्नो ठाउँबाट सहयोग गरिरहेको महाशाखाले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad