जिल्ला प्रहरी कार्यालय मनाङले समुदाय प्रहरी साझेदारी अन्तर्गत चाडपर्व लक्षित कार्यक्रम सवारी दुर्घटना न्यूनिकरणका लागि मनाङ जिल्लामा सवारी साधन चलाउने चालकहरुलाई सम्मान गरेको छ।
स्थानीय राजेन्द्र न्यौपानेका अनुसार चामे गाउँपालिका-४ मा सम्पन्न एक कार्यक्रममा मनाङका विभिन्न सवारी चालकहरुलाई अविर माला लगाई सम्मान गरिएको थियो।
मनाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रहरी निरीक्षक श्रवण कुमार विकले सवारी दुर्घटना न्युनिकरणका लागि चालक, सहचालक, यात्रुहरु र समुदायको भूमिका कस्तो हुनुपर्दछ भनि जनचेतनामुलक अनुशिक्षण प्रदान गरेका थिए। कार्यक्रममा दुर्घटना न्युनिकरण सम्बन्धी प्रचारप्रसार सामग्री समेत वितरण गरिएको थियो।
'सधैँ प्रहरीको चेकजाँचमा पर्थ्यौं आज प्रहरीकै हातबाट अविर माला लगाउन पाइयो यो हामीलाई जिम्मेवार बनाउन गरिएको कार्य हो' ग १ ज ६३१७ का जीप चालक लक्ष्मण तामाङले भने। प्रमुख जिल्ला अधिकारी र प्रहरीले आफूहरुलाई माला लगाएर सम्मान गर्नु अत्यन्त उदाहरणीय कार्य भएको ग १ ज ६३९१ जीपका चालक नारायण भण्डारीले बताए।

प्रतिक्रिया