ad ad

समाज


विद्यार्थीले डाक्टरलाई नै बिरामी बनाएपछि...

विद्यार्थीले डाक्टरलाई नै बिरामी बनाएपछि...

नेपालखबर
असोज ७, २०७६ मंगलबार ७:३४,

पश्चिमाञ्चल  स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराका उपकुलपति, डिन र निमित्त निर्देशकले अस्पतालमा लाइन बसेरै चेकजाँच गराएका छन्।

उनीहरुले रहरले अन्य बिरामीजस्तै लाइनमा बसेर चेकजाँच भने गराएका होइनन्। र, उनीहरु बिरामी पनि होइनन्।

सोमबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विद्यार्थी नेताहरुले उनीहरुलाई त्यसरी चेकजाँच गराउन बाध्य बनाउका हुन्। विद्यार्थीहरुले प्रतिष्ठानका उपकुलपति डा. बुद्धिबहादुर थापासहित डिन डा. नरेन्द्र गुरुङ तथा निमित्त निर्देशक डा. राजेश अधिकारीलाई नियन्त्रणमा लिएर सोही अस्पतालमा साधारण बिरामी सरह टिकट काटेर स्वास्थ्य चेकजाँच गराउन समेत बाध्य बनाएका हुन्।

अनेरास्ववियुका नेता तथा पूर्व अखिल क्रान्तिकारीका केन्द्रीय सचिव क्षितिज सापकोटाको नेतृत्वमा गएको टोलीले उनीहरुलाई त्यसरी उपचार गराउन बाध्य बनाएको हो।

‘अस्पताल यति धेरै अव्यवस्थित भयो कि सामान्य बिरामीले उपचारको प्रक्रिया पूरा गर्न एक दिन पुरै लाग्ने देखियो’, विद्यार्थी नेता सापकोटाले नेपालखबरसँग कुरा गर्दै भने, ‘यो वा त्यो प्रक्रियाका नाममा विरामीलाई अनावश्यक दुःख दिने काम भयो। त्यसको जानकारी दिन उहाँहरुलाई प्रक्रियामा सामेल गराएर उपचार गर्न लगाएका हौँ।’

उनले वास्तविक पीडा भोग्नेलाई मात्रै थाहा हुने भन्दै भीसी र डीनसहितको टोलीलाई सो प्रक्रियामा सहभागी गराएको बताए।

‘हामीले उहाँहरुलाई जबर्जस्ती गरेका होइनौँ, अस्पतालको यथार्थ जानकारी दिनका लागि मात्रै त्यस्तो गरेका हौँ’, सापकोटाले भने। उनले डाक्टरहरुको चेकजाँच प्रक्रिया पूरा गर्न पाँच घण्टा लागेको बताए।

बिरामीहरुका साथमा अनेरास्ववियुका नेता क्षितिज सापकोटा

सो चेकजाँच प्रक्रियामा सामेल भएपछि प्रतिष्ठानका उपकुलपति थापाले प्रतिष्ठानमा समस्या रहेको र त्यसको समधान गर्न आफू प्रतिवद्ध भएको जानकारी दिए। ‘प्रतिष्ठानमा समस्या नै छैनन भन्ने होइन् समस्या छन्’, उपकुलपति डा. थापाको भनाई उदृत गर्दै एक विद्यार्थी नेताले नेपालखबरलाई भने, ‘हामी त्यो समस्या समधान गर्न प्रतिवद्ध छौँ।’

विद्यार्थी नेताहरुसँग उपकुलपति डा. थापाले बिरामी अत्याधिक संख्याका कारण सोचेजस्तो सेवा सुविधा दिन नसकेको बताउँलै आगामी दिनमा अस्पतालको सबै क्षेत्रमा सुधार गरेर अगाडि बढ्ने प्रतिवद्धता समेत जनाएका थिए।

विद्यार्थी नेताहरुको यो अभियानलाई अस्पतालमा रहेका बिरामीहरुले समेत साथ दिएका थिए। उनीहरुले डाक्टरकै कारण आफूहरुले दुःख पाएको प्रतिक्रिया दिएका थिए। डाक्टर चेकजाँच पुर्जी बोकेर यताउता हिँड्दा बिरामीको भिडले उनीहरुमाथि आक्रोश समेत व्यक्त गरेको थियो। उनीहरुले एउटै डाक्टरले सरकारी अस्पताल र निजी अस्पतालमा फरक व्यवहार गर्ने समेत बताए।

विद्यार्थी नेता सापकोटाले अस्पतालको सामाजिक सेवा इकाइमा मात्रै नभएर सबै क्षेत्र लथालिंग रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .